
पोखरा – जेन–जी प्रदर्शनका कारण बन्द पोखराका विद्यालय खोल्ने तयारी गरिएको छ। पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न परिपत्र गरेसँगै खुलाउने तयारी गरिएको हो।
शनिबार बसेको पोखरा महानगरपालिकाको बैठकले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए।
‘विगत केही समयदेखि देखिएको असामान्य परिस्थितिको कारण विद्यालयहरु पूर्ण रुपमा बन्द भएकोमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार सम्पूर्ण विद्यालयहरु असोज १ गतेदेखि नियमित सञ्चालन गर्ने भनि निर्णय भएकोले सोहीअनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, आचार्यद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।
पोखरामा सरकारी कार्यालय, प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पोखरा महानगरपालिका, विभिन्न राजनीतिक दलका कार्यालय र होटल तथा रेष्टुरेन्ट जेन–जी प्रदर्शनकारीले जलाएर क्षतविक्षत बनाए पनि विद्यालयहरुमा भने क्षति पुगेको छैन।