
- तनहुँ प्रशासनले बिहीबारदेखि नागरिकता र नागरिकता प्रतिलिपि वितरण सेवा पुनः सुरु गर्ने भएको छ।
- जेन–जी समूहको प्रदर्शनले क्षतिग्रस्त कार्यालयबाट पूर्ण सेवा दिन नसक्ने अवस्थामा वैकल्पिक स्थानको खोजी भइरहेको छ।
- आगजनीपछि कार्यालयमा प्राविधिक मूल्यांकन हुँदै गर्दा, प्रशासनले अन्य सेवाहरूका लागि वैकल्पिक उपाय खोज्दैछ।
पोखरा- बिहीबारदेखि तनहुँ प्रशासनले नागरिकता वितरण थाल्ने तनहुँ जेन–जी प्रदर्शनकारीको तोडफोड र आगजनीले क्षतिग्रस्त जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता वितरण थाल्ने भएको छ ।
कार्यालय जलेपछि रोकिएको नागरिकताको प्रमाणपत्र वितरण बिहीबारदेखि थाल्ने भएको हो । नागरिकतासँगै नागरिकताको प्रतिलिपि सेवा सुचारु हुने प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए ।
सोमबारदेखि नै आदिवासी, जनजाती, दलित, खस आर्य, मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणित सम्बन्धी सेवा कार्यालयले दिइरहेको छ ।
‘कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा संचालन गर्न कार्यालयका तर्फबाट अधिकतम प्रयास भइरहेको छ’, उनले भने । राहदानी वितरण भने राहदानी विभागबाट कम्प्युटर लगायतका विद्युतीय राहदानीका लागि आवश्यक उपकरण कार्यालयमा प्राप्त भए पश्चात सुचारु गर्ने तयारी छ ।
राष्ट्रिय परिचयपत्र पनि पञ्जीकरण विभागबाट विवरण दर्ताका लागि आवश्यक पर्ने सामाग्री आएपछि मात्रै सुरुआत गर्ने तयारी छ । आगजनी भएको कार्यालयबाट पूर्ण सेवा दिन नसक्ने अवस्था भएपछि अहिले प्रशासन कार्यालय वैकल्पिक स्थानको खोजी गरिरहेको छ ।
जिल्लामा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने जिल्ला प्रशासन कार्यालय जेन–नी समूहको प्रदर्शनपछि क्षतिग्रस्त हुदाँ सुनसान छ ।
प्रशासन परिसरमा जलेका सवारी, कुर्सी, टेबल, कम्प्युटर, प्रिन्टर, झ्याल, ढोका यत्रतत्र छरिएका छन् । जलेर नष्ट भएका कागजका टुक्रा असरल्ल देखिन्छ । कलेजी रङको भवनमा आगोको मुस्लो झोसिएपछि ध्वाँसे भएको छ ।
झ्याल ढोका नभएपछि ह्वांगै देखिन्छ । भवन पुनर्निर्माणका लागि प्राविधिक मूल्यांकनको काम भइरहेको छ ।