
काठमाडौँ- २३ र २४ गतेको जेनजी प्रदर्शनपछि पहिलो पटक खुलेको सेयर बजारमा आज दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ।
बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो।
पहिलो सर्किट ब्रेकपछि बजार पुनः खुलेको अवस्थामा नेप्से परिसूचकमा कुल ५ प्रतिशत गिरावट आएपछि दोस्रो सर्किट ब्रेक लाग्यो। यस कारण कारोबार ४० मिनेटका लागि स्थगित भएको छ। दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ।
दुई पुनर्बीमा कम्पनी सामेल समूह सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह पनि ५ प्रतिशतभन्दा बढीले घटेका छन्।
आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३४.२७ अंकले घटेर बन्द भएको थियो। अघिल्लो कारोबार दिन अर्थात् भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको थियो।