
- जेनजी आन्दोलनका कारण कर्णालीका ९७ भौतिक संरचनामा क्षति पुगेको छ, जसमा निजी र सरकारी सम्पत्ति समावेश छन्।
- सुर्खेतमा आन्दोलन अवधिमा ३२ सरकारी सवारीसाधनमा आगजनी भएको, जिल्लाका १० कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ।
- सुर्खेत, जुम्ला, र मुगुमा क्षति पुगेको भए पनि अन्य कार्यालयहरूको विवरण संकलन कार्य जारी छ।
हुम्ला- जेनजी आन्दोलनका क्रममा कर्णालीका ९७ वटा भौतिक संरचनामा क्षति पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विवरण अनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालका अनुसार सवारीसाधन र भौतिक संरचनातर्फ पूर्ण, आंशिक र सामान्य क्षति भएको हो । उनका अनुसार दुईपाङ्ग्रे सरकारी सवारीसाधन १४ वटा पूर्ण रूपमा क्षति भएका छन् भने पाँच वटा आंशिक रूपमा क्षति भएका छन् ।
चारपाङ्ग्रे छ वटा पूर्ण र १३ वटा आंशिक क्षति भएका छन् । निजीतर्फ चार वटा पूर्ण, एउटा आंशिक रूपमा क्षति भएका छन् । भौतिक संरचनामा सङ्घीय सरकारी कार्यालयतर्फ एक पूर्ण र दुई आंशिक क्षति भएका छन् भने प्रादेशिक कार्यालयतर्फ चार पूर्ण र तीन वटामा आंशिक क्षति पुगेको छ ।
यसैगरी जिल्ला तथा स्थानीयका सात पूर्ण र १० वटा आंशिक क्षति भएका छन् । चार वटा निजी भौतिक संरचनामा पूर्ण र चार वटा भौतिक संरचनामा आंशिक क्षति पुगेको छ ।
कर्णालीका तीन जिल्लामा भौतिक क्षति भएको प्रहरीले जनाएको छ । सुर्खेत, जुम्ला र मुगुमा भौतिक संरचनामा क्षति पुगेको हो । सबैभन्दा धेरै सुर्खेतमा भौतिक संरचनामा क्षति पुगेको छ ।
जेनजी आन्दोलनका क्रममा सुर्खेतमा ३२ सरकारी सवारीसाधनमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन गरेर १० वटा सरकारी कार्यालयका ३२ वटा सवारीसाधनमा आगजनी भएको हो ।
बाँकी अन्य सरकारी कार्यालयको पनि विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीको विवरण अनुसार आगजनीबाट १५ वटा चारपाङ्ग्रे तथा १७ वटा दुईपाङ्ग्रे गरी ३२ वटा सवारीसाधन नष्ट भएका छन् ।
अहिलेसम्म १० वटा सरकारी कार्यालयको मात्र विवरण प्राप्त भएको छ । अन्य कार्यालयको विवरण सङ्कलनको काम भइरहेको छ ।