
- ब्रिटेन, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिने निर्णय इजरायल र अमेरिकामाथि दबाब बढाउने प्रयासको भाग मानिएको छ।
- पोर्चुगलले पनि प्यालेस्टाइनलाई मान्यता दिएको छ भने, फ्रान्ससहित अन्य देशहरूले पनि यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेले आतंकबादलाई ठूलो पुरस्कार दिने आरोप लगाए।
ब्रिटेन, क्यानडा र अष्ट्रेलियाले औपचारिक रूपमा प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिने घोषणा गरेका छन्।
गाजामा इजरायलले निरन्तर चलाइरहेको आक्रमणबीच अन्तर्राष्ट्रिय आक्रोश बढिरहँदा इजरायल र अमेरिकामाथि दबाब बढाउने प्रयासका रुपमा यो कदमलाई हेरिएको छ।
यी तीन देशहरु दशकौंदेखि इजरायलका बलिया सहयोगी मानिँदै आएका थिए। साथै यी राष्ट्रहरुले युद्ध समाधानतर्फ कुनै प्रगति नभएकोप्रति गहिरो असन्तुष्टि पनि प्रकट गरे। यी बाहेक आइतबारनै पोर्चुगलले पनि प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिएको घोषणा गर्दै दुई राष्ट्रको मान्यताले ‘न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो’ भनेको छ।
यसै साताको संयुक्त राष्ट्र महासभामा फ्रान्ससहित अन्य केही देशहरूले पनि यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ, जसले इजरायललाई अझै एक्ल्याउने छ र यसले उसको प्रमुख सहयोगी अमेरिकासँग पनि मतभेद निम्त्याउन सक्ने मानिएको छ।
प्यालेस्टाइनलाई युरोपियन देशहरुले धमाधम राज्यको मान्यता दिन थालेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य कहिल्यै नहुने बताए। उनले भने, ‘अक्टोबर ७ को भयावह नरसंहारपछि प्यालेस्टिनी राज्यलाई मान्यता दिने नेताहरूप्रति मेरो स्पष्ट सन्देश छ: तपाईंहरूले आतंकबादलाई ठूलो पुरस्कार दिइरहनु भएको छ।’
नेतान्याहुले आइतबार जारी वक्तव्यमा उनले आफ्नो भूमिको मुटुमै आतंकवादी राज्य थोपर्ने पछिल्लो प्रयासको जवाफ आफू अमेरिकाबाट फर्किएपछि दिइने भन्दै प्रतिक्षा गर्न भनेका छन्।
इजरायलका राष्ट्रपति इसहाक हेर्जोगले पनि यस कदमको आलोचना गर्दै यसले कुनै पनि प्यालेस्टिनीलाई मद्दत नगर्ने बताए। संयुक्त राष्ट्रसंघमा रहेका १४० भन्दा बढी सदस्य राष्ट्रहरूले पहिले नै प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन्, र गाजामा इजरायलको आक्रमण बढ्दै गएसँगै यो संख्या झन् बढिरहेको छ।
आइतबार आएका घोषणाहरुको श्रृंखलामध्ये पहिलोमा, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ‘एक्स’ मा आफ्नो देशले ‘प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिएको र प्यालेस्टाइन र इजरायल दुवैका लागि शान्तिपूर्ण भविष्य निर्माणमा सहकार्य गर्न इच्छुक रहेको’ बताए।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसै वर्ष जुलाईमा आफ्नो देशले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई मान्यता दिने बताएका थिए। त्यस्तै बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आइतबारनै जुलाईमा गरेको वाचा पूरा गर्ने भन्दै बेलायतले प्यालेस्टाइनलाई मान्यता दिने बताए।