सिमकोट – भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह सुरु गरेको छ। दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो। दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए।
यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकामा नयाँ र सुविधासम्म भवन निर्माण पछि सहज भएको उनले बताए।
यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उनको भनाइ छ। विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ। हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन्।
सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए। यो भवन रु ७४ लाखमा निर्माण गरिएको हो।

भर्खरै
लोकप्रिय






































































































































































































