
काठमाडौँ- नेपाली टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजलाई दिने तयारी रोकिएको छ।
टेलिकमको हालको बिलिङ प्रणाली फेर्नेसम्बन्धी ठेक्काका लागि टेलिकमले गत भदौ १५ मा ह्वावेमात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो। पछिल्लो राजनीतिक परिस्थितिका कारण असोज ८ मा खोल्ने भनिएको उक्त मूल्यप्रस्ताव अनिश्चितकालका लागि स्थगित गरिएको सूचना टेलिकमले बुधबार जारी गरेको छ।
बिलिङ प्रणालीको नयाँ सेटिङका लागि टेलिकमले गत मार्च १८ मा गरेको ठेक्का आह्वानमा चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिज र ह्वेल क्लाउडले मात्र प्रस्ताव राखेका थिए। यसमध्ये ह्वावेलाई प्राविधिक रूपमा योग्य ठहराइएको थियो। यो ठेक्का रकम करिब ५ अर्ब रूपैयाँको हुने स्रोतले जानकारी दिएको छ।
टेलिकमको अहिलेको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ।
यसअघि गत जेठ २५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी टेन्डरमा अनियमितता भएको भन्दै तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।