
काठमाडौँ – मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाउने कार्य जारी छ।
बिहीबार दिउँसो २:४५ बजेसम्म पहिरो पन्छाउने कार्य करिब ६० प्रतिशत सम्पन्न भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
सडक डिभिजन भरतपुरका पहिरो हटाउन नारायणगढतर्फबाट एउटा एक्साभेटर र एउटा लोडर, तथा मुग्लिनतर्फबाट दुईवटा लोडर र एउटा एक्साभेटर गरी कुल पाँचवटा उपकरणले काम गरिरहेका छन्।
पहिरो पन्छाउने क्रममा नारायणगढतर्फ ठूला ढुंगाहरूका कारण केही कठिनाइ भइरहेको छ। साथै, पहिरोमा साना र तीखा ढुंगाहरू धेरै भएकाले टायर पन्चर हुने तथा ढुंगा लागेर अपरेटर घाइते हुने जस्ता समस्या पनि देखिएका छन्। जसले गर्दा सोचेअनुसारको प्रगति हुन नसकेकोले हेभी इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट थप दुईजना अपरेटरहरू बोलाइएको सडक डिभिजनले जनाएको छ।
सडक डिभिजनले पहिरो पन्छाउने कार्य निरन्तर चलिरहेको र कुनै बाधा नआएमा सम्भवतः आज रातिसम्ममा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरेको छ।