
काठमाडौँ – उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन्।
नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए।
देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनको भनाइ थियो। सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने उनले बताए।
जेन–जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गरे। अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिए। अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताए।
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनले बताए।