
काठमाडौँ- देशभर हाल मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यसमध्ये कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति भने कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।