
काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले विपद्मा मानवीय क्षति शून्य गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्।
शनिबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा निकाय र सम्बद्ध निकायहरूलाई मानवीय क्षतिलाई शून्यमा झार्ने गरी खटिन निर्देशन दिइएको जानकारी दिए।
गृहमन्त्री अर्यालले भने, ‘अहिले वर्षातसँगै केही विपद्हरू आएका छन्, भौतिक क्षति भइरहेका छन्। तर हामी मानवीय क्षति जिरो होस् भन्ने उद्देश्यले काम गरिरहेका छौं। कुनै पनि कमी-कमजोरी नहोस् भनेर निर्देशन गरिएको छ।’
यसैगरी, गृहमन्त्री अर्यालले विपद्को समयमा नाजायज फाइदा उठाउन खोज्नेहरू पनि सक्रिय हुन सक्ने भन्दै उनीहरूलाई कडा रूपमा निगरानी र नियन्त्रण गर्न निर्देशन दिएका छन्।
उनले थपे, ‘विपद् बेला फाइदा उठाउनेहरू पनि हुन्छन्। सुशासनका लागि गठन भएको सरकार हो। यो बेला नाजायज फाइदा उठाएर आर्थिक आर्जन गर्न खोज्नेहरू हुन्छन्। त्यसलाई कडा रूपमा निगरानी र नियन्त्रण लिनुपर्छ भन्ने मेरो कुरा छ।’