
- प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल गरिन्।
- सुदन गुरुङसहितका जेनजी अभियन्ताहरूले ओली र लेखकबिरुद्ध जाहेरी दर्ता गर्न खोजे तर प्रहरी परिसरले अस्वीकार गर्यो।
- जेनजी आन्दोलनका कारण केही प्रहरी चौकीहरू खाली गरिएका छन् र प्रहरीहरू सहरी क्षेत्रमा केन्द्रित भएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब परिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले यसबारे गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारैवटा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन्।
सुदन गुरुङसहित कतिपय जेनजी अभियन्ताहरूले सोमबार साँझ ओली र लेखकबिरुद्ध जाहेरी दर्ता गर्न खोजे पनि काठमाडौँ प्रहरी परिसरले यसलाई अस्वीकार गरेको थियो। यही सम्बन्धमा प्रहरी प्रमुख चन्दकुबेर खापुङले गृहमन्त्री अर्याललाई जानकारी दिएपछि प्रधानमन्त्री कार्कीको पहलमा बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्रीसहित बैठकमा बसेका थिए। जेनजी अभियन्ताहरूले मंगलबार अख्तियार प्रमुख प्रेम राईको राजीनामा माग्दै अख्तियार कार्यालयअगाडि प्रदर्शन गरेका थिए भने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको पनि राजीनामा मागेका छन्।
सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्म चलेको छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।
छलफललमा ओली र लेखकलाई पक्राउ गर्दाका परिस्थितिहरूबारे छलफल भएको स्रोतले बताएको छ। सामाजिक सञ्जालमा सुदन गुरुङसहितका अभियन्ताहरूले ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् भने कतिपयले सामाजिक सञ्जालमा बालेन र सुदन गुरुङलाई पक्राउ गर्न पनि माग गरेका छन्। एमाले नेता महेश बस्नेतले बुधबार एक स्टाटस लेख्दै ओली र लेखकबिरुद्ध मिडिया ट्रायल भइरहेको र प्रतिशोध साधेर अनावश्यक हर्कत गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
उता मध्य रातिदेखि काठमाडौँमा प्रहरीहरुले चौकी छाडेका छन्।
जेनजी आन्दोलनका कारण विस्थापित भएका प्रहरीहरु समुदायकै पहलमा पूर्ववर्त अवस्थामा फर्किए पनि सोमबार रातिदेखि सबै प्रहरी चौकी, बिटबाट प्रहरी सहरी क्षेत्रमा केन्द्रित भएको हो। प्रहरीका एक अधिकारीका अनुसार कम्तीमा इन्स्पेक्टरभन्दा तलको नेतृत्वमा रहेका प्रहरी कार्यालयहरु मध्यरातिदेखि खाली गरिएको छ। जेनजीका नाममा फेरि आन्दोलन सुरु हुने विश्लेषण गर्दै उनीहरुलाई धेरै संख्यामा हुने गरी एक ठाउँमा केन्द्रित गरिएको हो।