
काठमाडौँ– २३ र २४ भदौका दिन सत्ता उलटपुलट हुनेगरी भएको जेन-जी आन्दोलनपछि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपन घटाएको छ।
यसअघि आर्थिक वर्ष २०८२/८३ मा ५.२ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपन गरेकोमा विश्व बैंकले अहिले घटाएर आर्थिक वृद्धिदर यस चालु आर्थिक वर्षमा २.१ प्रतिशत मात्र हुने प्रक्षेपन गरेको छ।
यस्तै आर्थिक वर्ष २०८३/८४ मा यसअघि ५.५ प्रतिशतले वृद्धिहुने प्रक्षेपन गरेको बैंकले अहिले घटाएर ४.७ प्रतिशत मात्र हुने प्रक्षेपन गरेको छ। जुन जेन-जी आन्दोलनको असरका रुपमा देखा परेको बैंकले जनाएको छ।
पछिल्ला आन्दोलनहरूलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका रुपमा अथ्र्याएको छ। मुलुकमा बढेको भष्ट्राचार, व्यवसायिक वातावरण बन्न नसक्दा छिमेकी मुलुकहरूमा जस्तो नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ।
प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ।