
- एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरुले पार्टी पुनःगठनको माग गरेका छन्।
- नेताहरुले राजनीतिक असफलता र भ्रष्टाचारविरुद्धको विद्रोहलाई समर्थन जनाउँदै दलका मुख्य नेताहरुलाई बिदा गर्नुपर्ने बताएका छन्।
- जेनजी आन्दोलनलाई उच्च सम्मान जनाउँदै उनीहरुले सुधारका लागि राजनीतिक दलको पुनर्गठन आवश्यक भएको आह्वान गरेका छन्।
काठमाडौँ – एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरुले पार्टी पुनःगठनको माग गरेका छन्।
जेनजी आन्दोलनलाई समर्थन गर्दै उनीहरुले राजनीतिलाई नै असफल बनाइ रहेका पार्टीका मुख्य नेताहरुलाई पदमा राखेर अघि बढ्न नसकिने जर्नाका छन्।
तीन पार्टीमा आबद्ध २८ जना युवा नेताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो/तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौँ।’
उनीहरुले जेनजीको आह्वानमा भएको विद्रोह कुनै न कुनै रुपमा आवश्यक भएको ठहर गरेका छन्। दल र नेताहरुको लगातारको असफलता, कुशासन र भ्रष्टाचारका कारण देशमा जटिल अवस्था सिर्जना भएको उनीहरुको दाबी छ।
‘यो परिस्थिति अचानक आएको होइन । राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरुबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरुले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो, उनीहरुले अगाडि भनेका छन्,
‘जेन् जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो । पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन् जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।’