
काठमाडौँ– यही शनिबार र आइतबारको भारी वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारले राहतस्वरुप दुई लाख दिने भएको छ। साथै बाढीपहिरोमा परी घरवारविहीन भएका परिवारलाई अस्थायी घर बनाउन ५० हजार दिने निर्णय पनि भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसहित बसेको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबारको अस्थायी आवास बनाउन तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण भएपछि थप २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टकाअनुसार स्थायी आवास निर्माणका लागि पनि सरकारले राहत उपलब्ध गराउने भएको छ। त्यसका लागि हिमालमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ उपलब्ध गराइने सरकारले निर्णय गरेको छ।
बैठकले सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीनवटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ।