
- हावाहुण्डरीका कारण सुनसरीका इनरुवा, भोक्राहा र हरिनगरका केराखेतीमा ठूलो आर्थिक क्षति पुगेको छ।
- भोक्राहा नरसिंहका एयुब साहमियाँले भाडामा लिएको सात बिघा जमिनमध्ये तीन बिघा एक कठ्ठा केराखेती नष्ट भएको छ।
- कृषिविज्ञ नीलकमल सिंहले जिल्लाको ५३० हेक्टर केराखेतीमा बाढीको कारण क्षतिको विवरण सङ्कलन भइरहेको बताए।
सुनसरी– गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण सुनसरीका विभिन्न स्थानका केराखेतीमा क्षति पुगेको छ ।
सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो ।
आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ रु छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए । उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।
करिब रु १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए । वर्षेनी बाढीले केराखेतीमा रु १० लाखदेखि रु २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ ।
त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा रु एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन् ।
जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।