
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन गराउने कुरामा थप आधार तयार भएको जनाएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच छलफल भएको थियो।
छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत, र साधनको प्रक्षेपण गरी सरकारसँग सहयोग मागिएको जानकारी दिए। उनका अनुसार, सरकारले आयोगलाई आवश्यक सबै स्रोत-साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रवक्ता भट्टराईले आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप वातावरण सिर्जना गरेको उल्लेख गरे।
छलफलका मुख्य समझदारीहरू:
- निर्वाचनका लागि आवश्यक जनशक्ति तथा स्रोत-साधन सरकारले आयोगलाई उपलब्ध गराउने।
- आगामी दिनमा सरोकारवालाहरूसँगको छलफल, समन्वय र सहकार्यलाई थप सघन बनाउने।
- हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने।
उनले सरकार र निर्वाचन आयोगको तर्फबाट अब राजनीतिक दलहरूसँग पनि छलफल अघि बढाइने जानकारी दिए।