
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा हालको ३० प्रतिशत ट्यारिफमाथि थप १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे।
- ट्रम्पको घोषणाले चीन र अमेरिकाबीचको व्यापार तनाव पुनः चर्काउने संकेत दिँदै, चीनसँगको नोभेम्बर बैठक रद्द गर्ने इशारा गरे।
- ट्रम्पको घोषणापछि डाउ जोन्स र अन्य प्रमुख सूचकांकहरूमा पर्याप्त गिरावट आएको, बाजार अस्थिर भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानहरूमा हाल लागू भइरहेको ३० प्रतिशत करबाहेक थप १०० प्रतिशत आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। योसँगै चीन र अमेरिकाबीच केही महिना अघिदेखि मथ्थर देखिएको ब्यापार युद्ध फेरी चर्किने संकेत मिलेको छ।
ट्रम्पले नोभेम्बर १ देखि, वा सम्भव भए त्यसअघि नै लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र चीनबीच केही महिनादेखि कायम रहेको व्यापारिक युद्धविरामपछि आएको ठूलो तनावको संकेतका रुपमा हेरिएको छ।
यसअघि ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध गरेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएका थिए। ट्रम्पसँगको व्यापार युद्धमा नझुकेको चीनले जवाफि ट्यारिफ घोषणा गर्दै अमेरिकामाथि पनि १२५ प्रतिशत जवाफी भन्सार लगाएको थियो। चीन नझुकेपछि स्वीटजरल्याण्डमा दुई देशबीच वार्ता हुँदा दुवै देशले ११५ प्रतिशत बिन्दुले भन्सार घटाउने सहमति गरेपछि अहिले ३० प्रतिशत ट्यारिफ कायम अबवस्थामा रहेको थियो।
तर ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत उक्त घोषणा गरेका हुन्। उनले भने ‘संयुक्त राज्य अमेरिका अहिले चीनले तिरिरहेको करभन्दा पनि माथि, थप १०० प्रतिशत ट्यारिफ लगाउने छ। साथै नोभेम्बर १ बाट हामी सबै महत्वपूर्ण सफ्टवेयरहरूमा निर्यात नियन्त्रण (एक्सपोर्ट कन्ट्रोल्स) पनि लागू गर्नेछौं।’
ट्रम्पको यो निर्णय चीनले अत्यावश्यक दुर्लभ खनिज पदार्थहरूको निर्यातमा नियन्त्रण कडा पारेको प्रतिक्रियामा आएको जनाइएको छ। ती खनिजहरू धेरै प्रकारका इलेक्ट्रोनिक सामान उत्पादनका लागि जरुरी मानिन्छन्। यस घटनापछि ट्रम्पले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने तय गरिएको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक रद्द गर्ने संकेत पनि दिएका छन्।
ट्रम्पले शुक्रबार ट्रुथ सोसलमा पोस्ट गरेको प्रारम्भिक सन्देश, जसमा उनले ‘विशाल’ नयाँ ट्यारिफ लगाउने चेतावनी दिएका थिए, तर उनको भनाइलाई लगानीकर्ताहरूमा भय सिर्जना गरेको थियो। यसले लगानी बजारमा विशेषगरी गत समरको पुनरावृत्ति हुने डर रहेको थियो। जब चीनबाट आयात हुने सामानहरूमा ट्यारिफ १४५ प्रतिशतसम्म पुगेको थियो। जवाफमा चीनले १ सय २५ प्रतिशत कर लगाएको थियो।
ट्रम्पको घोषणा सँगै शुक्रबार बजारहरू तीव्र रूपमा ओरालो लागेको छ। डाउ जोन्स ८७८ अंकले (१.९%) घट्यो, एसएन्डपी ५०० २.७% ले घट्यो, र प्रविधि क्षेत्रमा केन्द्रित नास्ड्याक सूचकांक ३.५% ले झर्यो।
ट्रम्पले आफ्ना चेतावनीहरू हरेक पटक कार्यान्वयन नगरे पनि लगानीकर्ता, उपभोक्ता र व्यवसायीहरूका लागि चिन्ताको कारण भने बनेको छ। अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन्, र दुवै एकअर्कामा गहिरो रूपमा निर्भर छन्।
पछिल्लो समयमा मेक्सिको अमेरिकामा सामान पठाउने शीर्ष देश बनेको भए पनि, अमेरिका अझै पनि चीनबाट सयौं अर्ब डलर बराबरका वस्तुहरूमा निर्भर छ। त्यसैगरी, चीन पनि अमेरिकी सामानका लागि प्रमुख निर्यात बजारहरूमध्ये एक हो। यस परस्पर निर्भर सम्बन्धका कारण, व्यापार तनाव बढ्दा विश्व अर्थतन्त्रमै ठूलो असर पर्ने आशंका गरिएको छ।