
काठमाडौँ – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूमध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ।
जेनजी आन्दोलन र त्यसपछिका दिनमा निभाएको आफ्नो भूमिकाका साथै वार्षिक काम र अन्य विषयवस्तुबारे पत्रकार सम्मेलन गरेर नेपाली सेनाले उक्त जानकारी दिएको हो।
सेनाका अनुसार आन्दोलनमा हालसम्म ७६ जनाको मृत्यु भएको छ। जसमध्ये २२ जना आन्दोलनकारी, ३ जना प्रहरी, १० जना कैदी र ४१ जना अन्य रहेका छन्।
सेनाका अनुसार देशभर ४८४ स्थानमा आन्दोलन भएको थियो। आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार देशभरका विभिन्न कारागारबाट १५ हजार ५८८ जना कैदीबन्दी फरार भएकोमा हालसम्म ८ हजार ७९९ जना पक्राउ परेका छन्।
यस्तै, आन्दोलनका क्रममा ९७८ थान हतियार लुटिएको/हराएको सेनाले जनाएको छ। जसमध्ये ५८६ थान बरामद/फिर्ता भएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी