
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
- ‘मुनामदन’ नेपाली भाषामा आजसम्म सबैभन्दा बढी बिकेको खण्डकाव्य मानिन्छ।
- देवकोटा पाश्चात्य र पूर्वीय दर्शनलाई संयोजन गर्ने संक्षिप्त र शक्तिशाली कविताका लागि प्रसिद्ध छन्।
काठमाडौँ- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनले करिब दश वर्षको उमेरमै कविता लेख्न सुरु गरेका थिए।
देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिहरूका माध्यमबाट उनले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाएका थिए।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने उनी नै हुन्। उनको प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’ नेपाली भाषामा हालसम्म सबैभन्दा बढी विकिएको पुस्तक मानिन्छ।
स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन देखिन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त रूपसँग तुलना गरेका थिए।
नाट्यसम्राट बालकृष्ण समले भने देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मिएको बताएका थिए। विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उनले नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा योगदान दिएका थिए।
देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासलगायतका १५ जना गद्य लेखकका निबन्धहरू चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए। विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री रहँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरेका थिए।
वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनको सक्रिय योगदानलाई अविस्मरणीय मानिन्छ। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए। तुरुन्त कविता लेख्ने क्षमता उनका असाधारण विशेषतामध्ये एक मानिन्छ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगबीच पनि उनले उच्चस्तरका साहित्य सिर्जना गरेर नेपाली साहित्यलाई समृद्ध पारे। ‘पागल’ कविताको अङ्ग्रेजी अनुवाद उनले आफैं गरेका थिए। उनले पाश्चात्य ग्रीक स्रोतबाट प्रेरित अनेकौँ गाथाको नेपालीकरण पनि गरेका थिए। विसं २०२४ मा प्रकाशित ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’ र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्।
देवकोटाको कवि–प्रतिभा, रचनाको गुणात्मक मूल्य र योगदान आज पनि अद्वितीय मानिन्छ।