देशसञ्चार चौतारीमा भाग-११७

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

+
-

नेपालको हरेक भेगकाे माटाे सुहाउँदाे मौलिक बाजा छ। त्यस्तै मौलिक बाजाको धनी क्षेत्र हो कर्णाली। यही उर्वर माटाेकाे जन्मिएका थिए- लोकभाका संकलक, वाद्यवादक कलाकार प्रेमदेव गिरी (७२)। उनै गिरीले देशसञ्चार चाैतारीमा आफ्नाे अनुभव सुनाएका छन्।

माघ १० गते २०१० मा जन्मिएका गिरी जेठो सन्तान थिए। वीरेन्द्रनगरको हिलेखाली गाउँ मिश्रित समुदाय थियो। बाहुन क्षेत्री मगर, बादी समुदायको बाक्लो बस्ती थियो। अहिलेको क्षेत्रीय प्रसारण नजिक भएको उनको गाउँमा नाच्नु गाउन बीसको दशकमा मनोरञ्जनको उत्तम माध्यम थियो। हरेक पर्व विशेषमा गाना—बजाना हुन्थ्यो र हुन्छ। जहाँ मादल बज्थ्याे, गिरी त्यहाँ पुग्थेँ। सके गीत गाउँथे, नत्र मादल बजाउँथे। ‘रत्यौली होस् कि पूजा हाेस् हामी पुग्थ्यौं,’ उनी भन्छन्, ‘मादलको लतमा त्यतिखेर परे जब आफ्नै गाउँको बादी थर भएको साथीसँग मेराे अग्रजले मित लगाइदिए। मितसँगकाे उठबसले विस्तारै मादल बजाउने लतमा परे।’

‘कलाबाट कमाइ थिएन रमाइलो चाहिँ थियो त्यो समय,’ गिरी भन्छन्, ‘माथिल्लो जातिका घरमा मादल कमै भेटिन्थ्यो। कुलिन वर्गको घरको आँगनमा मादल देखिन पनि हुन्थेन। तर मेरो घरमा मादल थियो। मेरो बुवा बजाउनु हुन्थ्यो। त्यसैले त मादलको लतमा परें।’

त्यस्ताे समय थियाे कि लोकभाका नगाउने टोल हुँदैनथ्यो। एक दिन उनी रत्यौलीमा गए, जहाँ गाइयो— ‘सलल मलेवा घुम्छ मादल मुनी मायालाई।’

अरूले रमाइलोकाे लागि गाए। रमाइलोका लागि नै सुने गिरीले पनि । तर गीतका शब्द-शब्दले उनलाई तान्थ्यो। भाका-भाका उनको मनमा झन्कृत हुन्थ्यो। ‘जब-जब लोकभाका सुन्थेँ अनि त्यसका शब्दहरू घरमा पुगेर लेख्थे। त्यो भाका सम्झिने कोसिस गर्थेँ।’

आठ वर्षकाे उमेर छँदादेखि घरबाटै मादल बजाउन कोसिस गर्थे गिरी र पनि उनी मादलमा मात्रै सीमित भएनन् । राना चौधरीकाे घरमा बज्ने मादलकाे तालसँगै उनी गीत पनि गम्भीर सुन्थे । गीतकाे भाका र शब्दसँग माेहित हुन्थे। मादलकाे तालसँग जति प्रेम बस्याे गीतमा पनि बसाले उनले। सोरठी गाउनेको घरमा पनि मादल हुन्थ्यो। ‘माथिल्लो जातका मानिसहरू पनि गाउँथे बजाउँथे तर घरमा मादल सारङ्गी राख्दैनथे। सायद मेरो बा अपवाद हुनुहुन्थ्यो जसले मादल घरमा राख्ने र बजाउने गर्नु हुन्थ्याे। केवल मनाेरञ्जनका लागि,’उनले भने।

तीजमा नाचगान जमाउन फराकिलाे आँगन हुन्थ्याे। मादल खेलौना जस्तो पनि भयो उनको लागि। घरमा बजाउने मादल खेलाउन भइहाले पछि मादलको संगतमा नपर्ने कुरै भएन। उनी भन्छन्, ‘जब किशोर उमेरमा लाग्यौँ अनि रत्यौली र तीजमा खुब मादल बजायौँ। यसरी मादलको तालहरूसँग साक्षतकार हुँदै गएँ।’

स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्र पंक्तिमा हुन्थे उनी। मादल बजाउने गाउने गर्थे। र नाटकमा लाेक नाटकमा अभिनय पनि गर्थे।

जीवनमा गीत संकलक हुँला भनेर सोचेका थिएनन् गिरीले । बरू हरेक सांगीतिक कार्यक्रममा जाँदा उनी गीतमा मादल बजाउँथे। तालमा ताल मिलाउँथे। तर जब जब शब्द र लय सुन्थे त्यसले उनलाई आक्रशित गर्थ्याे। ‘मादल बजाउनले गीतमा असाध्यै ध्यान दिनुपर्थ्याे। नाच्ने गाउनेहरू त थाक्थे। तर मादल बजाउनेहरू निरन्तर बजाउनु पर्थ्याे। त्यसले गर्दा गीत पनि सुन्नु पर्ने। नाच्नेलाई ताल दिनु पर्ने। मीठा गीतहरू म हेक्का राख्थे,’ उनी भन्छन्, ‘त्यो बेलामा नयाँ भाका र शब्द म गाउँथे र टिपेर पनि राख्थे। बिर्सिन्छु कि भनेर त्यसो गर्थें।

२०२९ सालमा तत्कालीन सांस्कृतिक संस्थानले आयोजना गरेको १४ अञ्चल नृत्य प्रतियोगितामा भेरी अञ्चलको प्रतिनिधित्व गरेर सुर्खेत जिल्लाबाट पाँच जनाको टोलीमा काठमाडौं आइपुगेका थिए। त्यसपछि उनले पछाडि फर्किनु परेन।

२०२९ सालको कुरो राष्ट्रिय नृत्य प्रतियोगीतमा उनी राष्ट्रिय नाचघर आएका थिए। त्यो पनि नेपालगञ्जबाट भारतको बाटो भएर रक्सौल नाका हुँदै काठमाडौँ पुगेका थिए। संयोग कस्तो भयो भने सोही सालमा रेडियो नेपालमा लोकगीत प्रतियोगीता पनि राखेको थियो। ‘नाचघरले नाचको र रेडियो नेपालले राखेको गीत प्रतियोगीतमा भाग लिन मैले २०२९ साल माघको महिना पहिलोपटक रेडियो नेपालमा पुगेको थिएँ। र गीतमा पनि हामी प्रथम भयौँ।’

नाचमा र वाद्यबादनमा पहिलाे भएपछि गिरीले राष्ट्रिय नाचघरमा जागिर पाए। रेडियो नेपालमा गीतमा मादल बजाउन पुग्थे।

विस्तारै गीत रेकर्ड हुँदोरहेछ अनि रेडियोमा बज्दोरहेछ भन्ने थाहा पाएपछि उनले आफूले किशोर उमेरमा टिपेका गीत र भाका खोज्न थाले। भन्छन्, ‘बिर्सिन लागेको भाकाहरू पछि खोजें। धन्न लेखेर राखेको थिएँ र सम्झिन सजिलो भयो।’

‘करिब एक वर्ष मलाई मान्छे चिन्न नै लाग्यो। ३१ सालदेखि भने मेरा गीत रेडियोबाटै बज्न थाले। कुमार कान्छा गणेश रसिक दाइहरूसँग उठबस भयो। अनि म चिनिन थालेँ,’ उनले ती दिन सम्झिए, ‘वर्षमा दुई चार गीत मेरा पनि रेकर्ड हुन थाल्यो।’

गिरीले तिनै लाेकभाका गीत रेकर्ड गरे जसलाई किशोर उमेरमा सुनेका र टिपेका थिए।

गिरी यस्तो ठाउँमा हुर्किए, जहाँ सर्वजाति थियो, जहाँ हुम्लादेखि बर्दियासम्मका मानिसहरूको बसोबास थियो। सोरेठीदेखि घाटुसम्म थियो। जसको प्रभाव गहिरो पर्‍यो उनलाई।

पुराना-पुराना लय र भाकाहरू संकलित गरेका थिए। २०३१ सालमा राजा महेन्द्रको जन्मोत्सवमा शाही नेपाल चलचित्र संस्थानले चार वटा डकुमेन्ट्री बनाएको थियो। तामाङ सेलो, तराईको लाेकभाका, काठमाडौँकाे धिमाल र पश्चिमको सिंगारू गर्ने भन्ने भयो। अनि सिंगारु बनाएर चलचित्र संस्थानमा दिएको थिएँ, जसलाई म प्रस्तावित मात्रै मान्छु। तर त्यसपछि मैले रेडियो नेपालबाट पहिलो गीत बज्यो— वारी खोला नल पारी…फूलमाया रेलैमा ….।’

त्यही साल ‘निरजलै’ बोलका गीत पनि ल्याएको थिए। देउडा सिंगारू जस्ता गीत दिए। तर रेडियो नेपालमा बढी चलेको उनलाई चिनाएका ३२ सालमा स्वर्गीय कमला श्रेष्ठले गाएको गीत थियो, ‘सरर मलेवा घुम्छ बादल मुनी मया लै, चट्ट नजर आँखीमा माया कलेजीमा लै।’

यी गीत बाह्रमासे थिए, जसलाई गाइयो। भाषा भाषीको गीत रेकर्ड हुँदैनथ्यो। न मान्यता दिँदैनथ्यो। तर गिरीले गणेश रसिकको समूहबाट कर्णालीको देउडा गीत गाए— छ्याम्म छ्याम्म!

यो कर्णालीको लयमा भाषालाई अलि शद्धिकरण गरे उनले सिगारु झ्याउरे खली दिए उनले। ५० वटा गीत गरे पनि दुई चार वटा गीतले चिनाएको बताउँछन् गिरी। उनी भन्छन्, ‘गीतको पहिचान त लय रहेछ, जसले समुदाय र भुगोल चिनाउँदोरहेछ।’

२०२५ देखि रंगमञ्चमा छिरेका गिरी अहिले पनि बेलाबेला अभिनय गर्छन्। नाटकमा अभिनयबाहेक निर्देशन पनि गरेका छन् भने कतिपय ठूलो पर्दाको चलचित्रमा पनि उनको अभिनय देख्न पाइन्छ। ‘कला जीविपोपार्जन भन्दा बढी साधना हो,’ अहिले पनि साधनामा लागेका उनले आफ्नो सक्रियता नघटेको बताए।

गिरीका अनुसार बीस र तीसको दशकमा एउटा गीत रेडियो नेपालमा पुग्नु खण्ड काव्य लेखेजस्तै हुन्थ्यो। ‘शब्द र भावहरूको व्याख्या गर्ने हो भने त तीन मिनेटका गीतले धेरै कथा भन्दोरहेछ,’ उनले भने ।

रेडियो नेपालमा पुग्न गाह्रै थियो । लरतरो प्रतिभा भएकाले रेडियो नेपाल पस्न नचिताए पनि हुन्थ्यो। तर गिरी रेडियो नेपाल पस्न खासै ठूलो संघर्ष गर्न नपरेको बताउँछन्। उनी बाद्यवादकका रूपमा रेडियो नेपाल पुगेका थिए। मादल बजाउँथे।

रेडियो नेपालमा पनि गिरीले मादल बजाउँछ भन्ने बाक्लै चर्चा भयो । हरेक गायक संगीतकारको रोजाइमा उनी पर्न थाले। मादलको तालमा अनेकन नयाँपन ल्याउँथे। रत्न रेकर्डिङमा संगीतकार तथा वाद्यवादकहरुको टोलीमा पनि उनी भाग लिन्थे। ‘३२ सालदेखि रत्न रेकर्डिङमा बाद्यवादकका रूपमा पश्चिमबाट म र पूर्वबाट सुन्दर श्रेष्ठ हुनुहुन्थ्यो जो हामीले नियमित काम पायौँ,’ उनले भने, ‘हामीलाई नियमित मौका दिएकाले मलाई रेडियोमा संघर्ष गर्न खासै गाह्रो भएन।’

यही क्रममा गिरीको भेट भयो रंगकर्मी, गायक, कलाकार, हरिप्रसाद रिमाल। उनको संगतमा उनले थुप्रै रेडियो नाटक र रंगमञ्चमा मादल बजाउने र अभिनय गर्ने काम गरे। ३२ सालदेखि ४० सालसम्म उनले काम गरे।

‘२०४१ सालमा उनले नाचघर छोडेर सुर्खेत गएको एक वर्षपछि फर्किएका गिरी रेडियो नेपाल घुम्न पुगेका थिए। अचानक पाण्डब सुनवार लगायतले उनलाई फर्किन अनुरोध गरे। उनी फर्किए। ‘गाउँतिर फर्किएर हुन्छ। लोक उत्थानका लागि राम्रो कार्यक्रम भएको छ। अब नफर्किनु भने। अनि ४३ को माघसम्म उनी बसे, रोधी, प्रतिभा साँझ, फूलबारी जस्ता कार्यक्रम चलाउने हामी भयौँ,’ गिरीले भने।

२०४५ सालमा रेडियो नेपाल र राष्ट्रिय नाचघर छोडेर गाउँ फर्किएका थिए गिरी । उनले काठमाडौँ प्रेमले छोडेका थिए। धिक्कारेर होइन। ‘मेराे आफ्नै पारिवारिक कारणले काठमाडाैँ छाेड्नु परेकाे हाे,’ उनले भने।

तीनवटै क्षेत्रमा टेको लाग्दै गरेको बेला पारिवारिक कारणले घर अर्थात् गृहजिल्ला सुर्खेत फर्किनुपरेको थियाे।

नाचघरमा हुँदा थुप्रै प्रतिभासँग उनकाे परिचय भयाे । उनी भन्छन्, ‘राष्ट्रिय नाचघर कुनै बेला कलाकार मात्रैको थिएन साहित्यकारसँग पनि भेट हुन्थ्याे। नाचघरको ढोकाबाट भित्र नारायण गोपाल, हरिप्रसाद रिमाल मात्रै जानु भएन, बासु शशी, भुपि, तारादेवी, कुमार बस्नेतहरू जाने आउने गर्नु हुन्थ्याे। त्यसैले नाचघर कला साहित्य र संगीतको जमघट हुने थलो थियो।

उनीद्धारा संकलित भाकालाई ज्ञानु राणा र कुमार कान्छाले पनि गाए।

गिरीको प्रशंसा गर्नेमा स्वरसम्राट नारायण गोपाल पनि पर्छन्। भन्छन्, ‘जब जब मादलमा हात बस्दै गयो अनि एकैपटक धेरैवटा मादल बजाएँ। नारायण गोपाल दाइले मेरो मादल बजाएकै देखेर सुनेर मन पराउनु भएको थियो।’

नारायण गाेपालकाे सांगीतिक समूहमा उनले पनि देश विदेशकाे यात्रा गरे। नेपालबाट कार्यक्रम गर्न भनि रुस र हङकङ जाँदा नारायण गोपालसँग आफू नजिकिन पाएको उनी सम्झन्छन्। त्यसैगरी कलकत्तामा चलचित्रको गीतको रेकर्डिङ गर्न जाँदा पनि मादल बजाउन नारायण गोपालले गिरीलाई नै लगेका थिए।

२०२५ सालदेखि लोकगीत संकलन, वाद्यवादन र अभिनय क्षेत्रमा सक्रिय गिरीको सुर्खेतमा सालिमा, सरर मलेवा, जाउँ माया बुलबुले, ढाका टोपी, लगायत दर्जनौँ गीत चर्चित छन्।

अहिले पनि गाउँमा स्कुल घर गर्ने गिरी साइकल चलाउँछन्। साना बालबालिकालाई उनी मादलको कक्षा दिन्छन्। लोकभाका र शब्दहरु सुनाउँछन् । भन्छन्, ‘म अहिले पनि स-साना बालबालिकाहरुलाई मादल पढाउँछु। लोक भाका बुझाउँछु। जे जानेँ, त्यही गरिरहेको छु।’

उनकाे शिक्षण पेशाले उनलाई निराश बनाएकाे भने छैन। भर्खरै उनी जगदम्बा सम्मानले सम्मानित भएका छन्। भन्छन्, ‘कलाकारलाई राज्यले कहिले पाे चिन्याे। तर निजी संघसंस्थाहरुले भने चिन्न र खाेज्न थालेका छन्।’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’