
- बागलुङका मगर विद्यार्थी मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन्, विशेष गरी तिहारमा देउसी खेल्ने प्रयास गरेका छन्।
- विद्यार्थीले हिन्दी र अङ्ग्रेजी गीतलाई हटाई स्थानीय मारुनी, सोरठी र कौरालगायत गीतलाई प्राथमिकता दिएका छन्।
- मगर विद्यार्थी सङ्घले युवा पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले बृद्धहरूसँग प्रशिक्षण लिने व्यवस्था मिलाएको छ।
ढोरपाटन (बागलुङ)- बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।
तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन ।
हिन्दी, अङ्ग्रेजी र र्याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् । मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् ।
स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ । मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो ।
बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरु मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिए । पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उनको भनाइ छ ।
खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताए। मगर विद्यार्थी सङ्घले बूढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उनको भनाइ छ ।
युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताए । सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको सङ्घका सचिव प्रदीप थापामगरले जानकारी दिए।
करिब चार वर्ष बूढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उनको भनाइ छ । देउसी खेलेर सङ्कलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी सङ्घले जनाएको छ ।
विद्यार्थी सङ्घले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ ।