हुम्ला – जिल्ला जुम्लाको पातरासी गाउँपालिका–४, डिल्लीचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट स्थानीय बिन्दराम विकको दुईतले घरमा विद्युत् सर्ट भएर क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालले आगलागीबाट करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगदलगायतका सम्पूर्ण घरायसी सामग्री जलेर नष्ट भएका छन्। घरमा पालिएका चारवटा बाख्रा र दुईवटा खरायोसमेत जलेको उनले बताए।
बिहान करिब ४:५० बजे घरबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब चार घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीपछि पीडित बिन्दाराम विकको परिवार घरविहीन भएको छ र हाल छिमेकीकोमा आश्रय लिएर बसिरहेको छ। लत्ताकपडा र अन्नपात सबै जलेकाले पीडित परिवारलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीयको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































