- अमेरिकी राजदूत थम्पसनले एमसिए नेपालले जग्गा अधिग्रहणका क्रममा अवरोध सामना गरेकोमा चिन्ता व्यक्त गरे।
- गृहमन्त्री अर्यालले मानव अधिकारको सम्मान गर्दै समस्या समाधानका लागि आवश्यक परामर्शको प्रतिबद्धता जनाएका थिए।
- मन्त्री अर्यालले सुरक्षा आवश्यकताहरूको मूल्याङ्कन गर्न निर्वाचन आयोगसँग परामर्श भइरहेको बताएका थिए।
गृहमन्त्री ओमप्रकाश अर्याल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार गृहमन्त्रालयमा भेट भएको छ। भेटका क्रममा अमेरिकी राजदूत थम्पसनले एमसीसी विरोधी अभिव्यक्तिको बढ्दो चिन्ताबीच एमसिए नेपालले केही खण्डहरूमा जग्गा अधिग्रहणका क्रममा अवरोध सामना गरेको गुनासो गरेका छन्।
मन्त्री अर्यालले सरकार यस विषयमा अघिल्लो सरकार र संसदको प्रतिबद्धतालाई पालना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परामर्श पछि मुद्दाहरूलाई छिटो समाधान गर्ने आश्वासन दिएका थिए।
मन्त्री अर्यालसँगको भेटमा राजदूत थम्पसनले तिब्बती शरणार्थीको सुरक्षाको विषय पनि उठाएका थिए। राजदूत थम्पसनको जिज्ञासामा मन्त्री अर्यालले नेपालले सबैका लागि आधारभूत मानव अधिकारको सम्मान गर्ने बताएका थिए।
अमेरिकी राजदूत थम्पसनले देशभर शान्ति सुरक्षा पुनर्स्थापना गर्ने गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रयासको प्रशंसा गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। अवस्थामा सुधार आएको जानकारी मन्त्री अर्यालले गराएका थिए। सबै निकायहरूबीचको राम्रो समन्वय र जनता तथा सुरक्षा बलहरू बीचको नयाँ विश्वास स्थिरता र सुरक्षा पुनर्स्थापनामा फलदायी भएको गृहमन्त्री अर्यालले बताएका थिए।
कुराकानीको क्रममा मन्त्री अर्यालले सुरक्षा आवश्यकताहरूको मूल्याङ्कन गर्न मन्त्रालयले निर्वाचन आयोगसँग परामर्श गरिरहेको पनि बताएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































