- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीचको दक्षिण कोरिया भेट प्रमुख विश्व शक्तिहरूमाथि तनावका समयमा भएको हो।
- ट्रम्पले रूस-युक्रेन युद्ध अन्त्यका लागि सीको सहयोग चाहेर व्यापार सम्झौतामा चीनसँग आफ्नो सम्बन्ध सुधार गर्न खोजेका छन्।
- ताइवान, दुर्लभ खनिजहरूको निर्यात र अतिरिक्त शुल्कको घोषणा प्रमुख संक्रमणबिन्दु बनेका छन्, जसले आर्थिक र राजनीतिक तनाव उत्पन्न गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबिच ६ वर्षपछि दक्षिण कोरियामा भेटघाट भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गिम्हे एयर बेसमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हात मिलाएर एक-अर्काविरुद्ध अभिवादन साटासाट गरेका थिए।
यो वार्ता विश्वको पहिलो र दोस्रो ठूलो अर्थतन्त्रबिच बढ्दो आर्थिक तनावबीच सुरु भएको हो। आजको वार्तामा चीनले ताइवानमा बढाइरहेको सैन्य क्षमता र अमेरिकाले अवैध ड्रग तस्करीका नाममा भेनेजुएलामाथि बढाएको तनावका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ।
ट्रम्प चीनसँग व्यापार सम्झौता गर्न चाहन्छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँग व्यापार सम्झौता गर्न इच्छुक छन्। प्रस्तावित सम्झौतामा अमेरिकाबाट सोयाबिन खरिद पुनः सुरु गर्ने र दुर्लभ खनिज (रेयर अर्थ मेटल्स) सम्बन्धी प्रतिबन्ध हटाउने जस्ता मुद्दा समावेश छन्।
अमेरिकाले फेब्रुअरी २०२५ मा चीनमाथि १० प्रतिशत ट्यारिफ (शुल्क) लगाएको थियो, जुन अप्रिलसम्म बढ्दै १४५ प्रतिशत पुगेको थियो। हाल अमेरिकाले चीनका सामानमा ३० प्रतिशत शुल्क लगाइरहेको छ। ट्रम्पलाई लाग्छ, यो सम्झौताले उनलाई ‘महान डिलमेकर’ अर्थात सफल सम्झौताकारको छविमा अझ मजबुत बनाउने छ।
यो वार्ता त्यस्तो समयमा भइरहेको छ, जब ट्रम्पले आगामी नोभेम्बर १ बाट चिनियाँ सामानमा १०० प्रतिशत कर लगाउने र अन्य व्यापारिक नियम कडा पार्ने चेतावनी दिएका थिए। यो धम्की चीनले केही दुर्लभ खनिज र म्याग्नेटहरूको निर्यात रोक्ने निर्णयपछि आएको हो।
ट्रम्पले युक्रेन युद्ध रोक्न सीको सहयोग चाहेका छन्
व्यापारबाहेक ट्रम्पले रूस-युक्रेन युद्ध अन्त्यका लागि पनि चीनको सहयोग चाहेका छन्। गत हप्ता अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो, जसको चीनले विरोध गरेको थियो। ट्रम्पले भनेका छन् कि उनी सी चिनफिङसँग रूसी तेल खरिदबारे पनि कुरा गर्ने छन्। उनको दाबी अनुसार, चीनले अहिले रूसबाट तेल खरिद ‘धेरै कम’ गरिरहेको छ।
ताइवान पनि छलफलको एजेन्डामा
ताइवानको विषय पनि ट्रम्प-सी बैठकको एजेन्डामा रहनेछ। चीन ताइवानलाई आफ्नो भाग मान्छ, तर अमेरिका ताइवानलाई हतियार आपूर्ति गर्छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार भनेका थिए, ‘ताइवानलाई छोड्नु कुनै पनि व्यापार सम्झौतामा समावेश हुने छैन।’ उनका अनुसार, ताइवानको आफ्नो सुरक्षा र स्थिति प्रति चिन्ता जायज छ।

अमेरिकालाई चीनका दुर्लभ खनिजहरूको आवश्यकता
अमेरिकालाई आफ्नो रक्षा उद्योगका लागि दुर्लभ खनिजहरू अत्यावश्यक छन्, जुन मुख्य रूपमा चीनबाट प्राप्त हुन्छन्। विश्वका करिब ९० प्रतिशतभन्दा बढी दुर्लभ खनिजको प्रशोधन र परिष्करण चीनमै हुन्छ। अमेरिकाको करिब ७० प्रतिशत आपूर्ति पनि चीनमै निर्भर छ।
यी खनिजबाट शक्तिशाली म्याग्नेटहरू बनाइन्छन्, जसको प्रयोग मिसाइल, लडाकु विमान, ट्यांका र तोपमा हुन्छ। साथै, यही म्याग्नेटबाट चल्ने प्रविधि विद्युत गाडीहरूमा पनि प्रयोग गरिन्छ। चीनले हाल १२ प्रकारका दुर्लभ खनिजको निर्यातमा रोक लगाइसकेको छ, जसको असर अमेरिका र युरोपका सैन्य उद्योगमा परेको छ।
चीनमाथि शुल्कको घोषणापछि अमेरिकी शेयर बजारमा गिरावट
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा १०० प्रतिशत अतिरिक्त शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा अप्रिल यता देखिएको सबैभन्दा ठूलो गिरावट आएको थियो।
सरकारी विवरण अनुसार, अप्रिलदेखि अहिलेसम्म अमेरिकाका उद्योगहरूमा झण्डै ४२ हजार कामदारले रोजगारी गुमाएका छन्। कच्चा पदार्थ महँगो भएपछि उत्पादनको गति घटेको छ, र कर्मचारीहरूको तलब पनि पहिलेको जस्तो गतिमा बढिरहेको छैन।
ट्रम्पको भनाइमा, यो कदमले अमेरिकी कम्पनीहरूलाई थप बलियो बनाउनेछ। तर धेरै आर्थिक विश्लेषक र नागरिकहरूले यसलाई गलत नीति ठानेका छन्। उनीहरूको भनाइमा, यस्तो कदमले महँगाई बढाउनेछ र आम नागरिकहरूको खर्च गर्ने क्षमता घटाउने छ।

भर्खरै
लोकप्रिय






































































































































































































