काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न नहुने बताएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता खनालले अहिले माओवादीसँग एकता गर्ने बेला नभएको बताएका हुन्।
अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्न खोजिरहेका बेला खनालले भने असहमति जनाएका हुन्।
उनले भने,’यो समय माओवादीसँग एकता गर्ने बेला हैन। जानुहुन्छ भने जानुहोस्। म हात मिलाउने छु, सलाम भन्ने छु। मेरो मित्रता कायम नै रहने छ तर मेरो बुझाइ यो माओवादीमा जानेबेला हैन।’
यसअघि बैठकमा सम्मानित नेता झलनाथ खनाल बोलिरहँदा केन्द्रिय सदस्यहरूले होहल्ला गरेका थिए।
माओवादीसँग एकताबारे निर्णय गर्न बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्मानित नेता खनालले बोलेका थिए।
खनालले बोलिरहँदा अध्यक्ष माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूले खनालविरुद्ध होहल्ला गरेका हुन्। माधव पक्षका केन्द्रीय सदस्यले खनाललाई डिस्टर्ब गरेपछि खनाल पक्षका केन्द्रिय सदस्यहरू पनि आफ्नो स्थानबाट उठेर प्रतिवाद गरेका थिए।
बैठकमा खनालले अध्यक्ष नेपालको आलोचना गर्दै माओवादीसँग एकतामा जान नहुने धारणा राखेका थिए। त्यसपछि अध्यक्ष नेपाल पक्षका केन्द्रीय सदस्यहरूले सम्मानित नेता खनालबाट पार्टी नेतृत्वको अनावश्यक आलोचना भएको र पार्टी सञ्चालनमा सधैं असहयोग गरेको आरोप लगाएका थिए।
एक केन्द्रिय सदस्यका अनुसार बैठक कक्षको अवस्था सामान्य बनाउन हम्मेहम्मे परेको थियो। बैठक सुकेधारास्थित एक पार्टी प्यालेसमा चलिरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































