
डुम्रे – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन्।
नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए।
उनले स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरी उपचारमा सहजता कायम गरिने समेत उल्लेख गरे। बिरामीको जीवन रक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलको भनाइ थियो।
स्वास्थ्य बिमालाई रु एक लाखबाट वृद्धि गरी रु पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी गराए।
उनले भने, ‘स्वास्थ्य बिमालाई रु पाँच लाख पुर्याउँछौँ मात्र भनेका होइनौँ, कसरी स्रोत जम्मा गर्ने भन्ने विषयको गृहकार्य गरिरहेका छौँ, मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा अगाडि बढिसकेका छौँ।’
निजी संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको उनले बताए। जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकोले बिमाको रकम वृद्धि गरी पाँच लाख पुर्याउने योजना तयार भएको उनको भनाइ थियो।
नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उनले बताए।