झापा- प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच बर्षका लागि स्थिर प्रधानमन्त्री पाउन अहिलेको संवैधानिक व्यवस्थालाई ‘आमूल’ परिवर्तन गर्नुपर्ने बताएका छन्।
उनले यही संसदीय व्यवस्थालाई परिमार्जन गरेर पाँच बर्षका लागि स्थिर सरकार पाउन सकिने बताएका हुन्। सोमबार झापाको धुलाबारीमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि बुँदाहरू सार्वजनिक गरे।
उनले संसदको पहिलो दलको नेतृत्वमा पाँचबर्षका लागि स्थिर सरकार बनाउनुपर्ने बताए। प्रत्यक्ष निर्वाचन, समानुपातिक तथा लोकप्रिय मतका आधारमा पहिलो दल जुन हुन्छ सोही दलको नेतृत्वमा पाँच बर्षका लागि सरकार बनाउनु पर्ने उनले बताए।
सरकारका लागि संसदमा चाहिने बहुमत पुर्याउन मुलुकलाई चाहिने विज्ञहरूलाई पहिलो दलले लिने व्यवस्था हुनुपर्ने उनले बताए। विज्ञहरूको सूची सबै दलले निर्वाचन आयोगमा बुझाउने र सोही आधारमा पहिलो दलले संसदमा विज्ञहरू ल्याएर बहुमतको संसद बनाउनुपर्ने काँग्रेस महामन्त्री शर्माको भनाइ छ।
उनले भने, ‘धेरैले भन्लान्, यो कहाँको पद्धति हो भनेर। तर म भन्छु, यो कहीँको होइन। यो हामीले नै बनाउने पद्धति हो। यही सिकेर अन्य देशमा पनि लागू गरुन् बरु।’
अहिलेको संसदमा एक जना पनि विज्ञ नभेटिने समस्या पनि यो प्रावधानले समाधान हुने शर्माले बताए। उनले संसदमा दोस्रो, तेस्रो वा त्यसपछिका दलहरू पाँच बर्ष प्रतिपक्षमा बस्ने प्रावधान राख्नुपर्ने बताए।
पहिलो दलबाट प्रधानमन्त्री बनिसकेपछि दुई बर्षपछि विश्वको मत लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न उनले गरेका कामको मूल्यांकनका आधार हुनुपर्ने शर्माले बताए।
उनले भने, ‘सबै मन्त्रीका कामको मूल्यांकन चाहिँ हुने तर प्रधानमन्त्रीको कामको मूल्यांकन पनि त हुनुपर्यो नि। त्यसैले हामीले त्यस्का लागि केही इन्डिकेटर राखौं। त्यो परीक्षामा पास हुनुभयो भने उहाँ पाँच बर्ष प्रधानमन्त्री निरन्तर रहनुहुन्छ। नत्र अर्को प्रधानमन्त्री त्यही दलको आउँछ।’
यी प्रावधानहरू राखिएको अवस्थामा स्थिर ढंगले कामहरू हुने काँग्रेस महामन्त्री शर्माको दाबी छ।
भिडियोः