
मुगु – सुत्केरी व्यथा लागेपछि सर्जरी गर्नुपर्ने अवस्थामा पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाउँकी २५ वर्षीया ठुमा खड्कालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
बुधबार रातिदेखि व्यथाले च्यापेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पताल पुर्याइएकी खड्काको जिल्ला अस्पतालमा आवश्यक सुविधा नभएकाले सुर्खेतको प्रदेश अस्पतालमा रेफर गरिएको हो।
जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार, बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र दिसा खाएको हुन सक्ने देखिएपछि तुरुन्तै सर्जरी आवश्यक पर्ने भएको थियो। दुई वर्षअघि पनि सर्जरीबाट बच्चा जन्माएकी खड्काको यो दोस्रो आपतकालीन सर्जरी हो।
हिमपात भइरहेका चुनौतीपूर्ण अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याउन सकिएकोमा खड्काका श्रीमान् राजबहादुर खड्काले आफूलाई ठूलो राहत मिलेको बताए।