
मुगु – मुगु जिल्लाको सदरमुकाम गमगढीमा डेढ करोड रुपैयाँको लागतमा गुम्बा निर्माण हुने भएको छ। छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको विशेष पहलमा अघि बढाइएको यो आयोजना धार्मिक, सांस्कृतिक, र पर्यटन विकासका लागि महत्त्वपूर्ण मानिएको छ।
गुम्बा निर्माणले स्थानीय बौद्ध धर्मावलम्बीहरूका लागि पूजापाठ र ध्यानको सुविधा दिने मात्र होइन, धार्मिक पर्यटनलाई पनि प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। नगरपालिकाले बजेट व्यवस्थापन र निर्माण सामग्री सुनिश्चित गरी गुम्बा निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको छ।
नगरप्रमुख भामले गुम्बाले गमगढीको धार्मिक महत्वलाई थप उचाइमा पुर्याउने र पर्यटन विकासमा योगदान पुर्याउने बताउनुभएको छ। स्थानीय बौद्ध समुदायले पनि यो कार्यप्रति उत्साह व्यक्त गर्दै गुम्बा धार्मिक आस्थाको केन्द्र बन्ने विश्वास गरेका छन्।
यो गुम्बा आगामी वर्षभित्र उद्घाटन गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। ध्यान कक्ष र अन्य सुविधासहितको गुम्बा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्ने अनुमान गरिएको छ।