नेपाली भाषामा लेख्न भारतीय आख्यानकार छुदिन काबिमो दार्जिलिङ कालिङपोङबाट निरन्तर लेख्दै आइरहेका छन् । लेप्चा समुदायका छुदेन भारतीय सरकारी सेवामा आबद्ध छन् उनी तर लेख्छन् माटो, श्रमिक, महिला र अन्दोलनको कथा। पहिलो कथा संग्रह ‘१९८६,’ र ‘फातसुङ’ उपन्यास पछि उनी अहिले ‘उरमाल’ दोस्रो उपन्यासका कारण चर्चामा छन् । चिया बगानमा काम गर्ने मजदुरका कथाका साथै आफ्नो कथालाई पनि देश सञ्चार चौतारीमा सुनाएका छन् ।
दार्जिलिङको आदिवासी समुदायका छुदेनले ‘फातसुङ’ उपन्यास आदिवासीहरूले ‘गोर्खाल्याण्ड मुभमेन्ट’का लागि गरेको संघर्षमा आधारित रहेर लेखेका थिए ।
उपन्यास उरमालमा भने उनले चिया कमानका मजदुरको कथा लेखेका छन् । ‘विगत २ सय वर्षदेखि अंग्रेजले चिया टिपाइरहे्। सुन फल्छ भनेर सोझा नेपाली र आदिवासीहरुलाई मदजुर बनाइरहे तर तिनको जीवन कहिल्यै उकासिएन । अनि लाग्यो मलाई तिनको कथा लेख्नुपर्छ जसको आवाज चिया कमानका मालिकहरुले सुन्दैनन् न त राज्यले सुन्छ,’ उनले भने ।
डुअर्स त निकै ठूलो भूगोल हो, जसलाई उपन्यासको परिवेश बनाए उनले । भुटानको एकदमै नजिक पर्छ डुअर्स । राजनीतिक रुपमा दार्जिलिङसँग जोडिन्छ सधैं । छुदेन भन्छन्, ‘दार्जिलिङले गरेको हरेक आन्दोलनमा डुअर्स मिसिएको छ । तर, जब राजनीतिक समाधान हुन्छ, डुअर्स जहिल्यै बाहिर पर्छ । सन् १९८६ को मुभमेन्टमा पनि त्यही भइदियो, २०१०/११ मा पनि त्यस्तै भइदियो ।’
उनका अनुसार डुअर्समा दार्जिलिङ, सिक्किमको तुलनामा नेपालीभाषी र आदिवासीहरु बढी छन् । त्यहाँको मिश्रित समाजमा चिया उमार्नेहरु पनि आदिवासी र नेपाली भाषी हुन् । असुर, उराव, टोटो, राभा, कोचे–मेचे लगायतका आदिवासीको जीवन चलाउनकै लागि गरेको संघर्ष लेखे उनले ।
प्राय: सिनेमाहरुमा चिया बगानको सौन्दर्य खुबै देख्न पाइन्छ । त्यो सौन्दर्य मजदुरहरुको खुन पसिनाबाट बनेको बताउँछन् छुदेन। परबाट हेर्दा जति भव्य देखिन्छ दार्जिलिङ नजिबाट हेर्दा दुःखको आगोबाहेक अरु देखिँदैन,’ उनले भने, ‘पानीपछि पिइने जलमा सायद चिया नै होला तर संसारका यत्तिका मान्छेले पिउने चिया उत्पादनमा संघर्ष गर्नेहरुको जीवन भने दयनीय छ । चिया टिप्नेहरुको जिन्दगी चियाबाट सुरु हुँदैन ।’
‘उरमाल’ चिया टिपेर राख्ने झोला हो, जसमा मजदूरहरुले चिया मात्रै होइन आफ्नो दुःख पनि टिपेर हाल्छन् भन्छन् उनी । उनी भन्छन्, ‘कोत्रो परिसकेको त्यो फुस्रो झोलीलाई सादरी भाषामा उरमाल भनिन्छ ।’
कुनै समय अंग्रेजहरु आएर त्यहाँ ‘सुन फल्छ’ भनेर धेरै आदिवासी र नेपालीलाई झुक्काए। सुन फलेन तर दुःख फल्न भने नछुटेको बताउँछन् उनी । भन्छ्न्, ‘त्यो समय निकै ठूलो भोकमरी लागेको थियो । त्यो भोकमरीबाट छुटकारा दिलाउन अंग्रेजहरुले नेपाली र आदिवासीलाई चिया कमानमा काम दिन सपना बाँडे । तर त्यो भोकमरी अंग्रेजले नै सिर्जना गरेको थियो भनिन्छ पनि । तर यो अर्को खोज र बहसको विषय हो ।’
‘उरमाल’ले चिया टिप्ने श्रमिकको कथा मात्रै नभएर अंग्रेजले चिया उत्पादन गर्ने प्रणालीमा नेपाली र आदिवासीहरुलाई कसरी जोड्यो भन्ने प्रश्न पनि गरेको बताउँछन् उनी । उनले भने, ’हजारौँ बर्षदेखि आदिबासी तथा नेपालीलाई अंग्रेजले कसरी चियाबाट पुँजीबादतिर लग्यो ? कसरी सुन फल्छ भनेर पुस्तौँपुस्तालाई चिया कमानमै अढ्याउन सक्यो । यो समस्या दक्षिण एसियाकै साझा हो ।’
बेलायती उपनिवेशले आदिवासीहरुलाई गरेको औपनिवेशिक शोषणलाई आजको राजनीतिले ठूलै प्रभाव पारेको चाहिँ देख्दैनन्। उनी बरु भन्छन्, ‘शोषण चाहिँ कमारोजस्तो बनाएर राखिन्थ्यो ।’
उनका अनुसार ती मजदुरहरु जो भोलिको बारेमा सोच्न भ्याउँदैनन् । एउटा फ्रेम बनाइदिएको छ, जुन साइरनले निर्धारण गर्दछ मजदुरहरुको दैनिकी ।
सन् १९८६ को रक्तपात पूर्ण ‘गोर्खाल्याण्ड आन्दोलन’लाई आधार बनाएर ‘१९८६’ नामक कथा संग्रह नै लेखे जसबाट २०१८ मा युवा साहित्यिक एकादामी पुरस्कार पनि जिते । त्यसैगरी दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारे फातसुङ लेखे ।
छुदेन अहिले पनि दार्जिलिङमा बस्ने नेपाली भाषीहरु राजनीतिका कारण नेपालसँग दुरी बनाउन बाध्य रहेको बताउँछन्। भन्छन्, ‘नेपाली भाषीहरु आफ्नो पुर्ख्यौली थलो, भाषालाई सम्झिन नपाउने समय आयो । नेपालसँग डिस्टेन्स बनाइराख्नु भनेजस्तो गरेको छ आजको राजनीतिले ।’
पाँच वर्ष लगाएर लेखेको उपन्यास ‘उरमाल’मा उनले पहिचानको कुरा पनि उठाएका छन् । पहिचानको सवालमा अहिले पनि नेपालीहरु संघर्ष गरिरहेका छन् । नेपालीले आफ्नो भाषा खोज्न त पाउनु पर्थ्यो तर अहिले राज्य नै बंगलाभाषी भएपछि नेपाली भाषीहरु पहिचानका लागि दुःख झेलिरहेका छन् । ‘भाषा र सामाजिक सांस्कृतिक रुपमा यता र उता एकअर्कासँग निकै रिलेटेड छ । भाषाले नै पहिचानको कुरा हो’, उनले भने, ‘७० मात्रै होइन ८६ को मुभमेन्ट पनि यही पहिचानकै कारण भएको हो,’ उनले भने ।
हिजोको मुभमेन्टपछिको समाजले खासै ठूलो अन्तर ल्याएको देख्दैनन उनी । भन्छन्, ‘राजनीतिक रुपमा के कस्ता परिवर्तन भयो त्यो इतिहास साक्षी छ तर सामाजिक रूपमा अथवा आम मान्छेको जीवनस्तर उकास्ने खालको परिवर्तन चाहिँ देखिएन ।’
उनको फातसुङ किताब नेपाली भाषासँगै हिन्दी, बंगाली, सिन्धी र अंग्रेजी भाषामा पनि प्रकाशित छ । ‘सङ अफ् सोइल’ शीर्षकमा अजित बरालले अनुवाद गरेको फातसुङ नेपाल, भारतसँगै बेलायतबाट पनि प्रकाशित भयो, जो दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार जेसिबी प्राइज फर् साउथ एसियन लिटरेचरको अन्तिम सूचीमा समेत पर्न सफल रह्यो ।
गाउँबाट उनी उच्च माध्यमिक पढ्न डुअर्स गएका थिए तर त्यहाँ पुगेपछि उनले पढ्न पाएनन् । पछि उनी सस्तोमा पढ्न पाइने भएपछि कालिम्पोङ पुगे, जहाँ पढाइसँगै उनले पत्रकारिता पनि गरे । उनी भन्छन्, ‘जीवन चलाउन पनि पत्रकारिता गरेको थिएँ । पछि जागिर खान थालेपछि छोडेँ ।’
उरमाले लेखनका क्रममा महामारी कोराना फैलिएको थियो । कोरानाका सन्त्रासका कारण छुदेनको अनुसन्धानमा धेरैपटक रोकिएको थियो । उनी भन्छन्, ‘लेखनकै क्रम थियो कोरोना लाग्यो अनि म गाउँतिर थुनिएँ । तर मेरो ल्यापटप सिलिगुडीमै थियो, जहाँ जान पूरै निषेध गरिएको थियो ।’
पूरा भिडियो: