
काठमाडौँ – मधेशकेन्द्रित दल एक हुने अभियान चलिरहेको समयमा मधेशको राजनीतिबाट उदाएका नेता राजेन्द्र महतोले मधेशको राजनीतिक आकाशमा अर्को पार्टी थपेका छन्, ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’।
‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान लिएर हिँडेको करिब वर्ष दिनमा अभियानलाई पार्टीको आधिकारिता दिएका छन्। यही माघ ८ गते उनले निर्वाचन आयोगमा पार्टी दर्ता गरेका थिए।
महतो लोकतान्त्रिक समाजवादी पार्टीलाई विभाजन गरेर १४ फागुन २०८० मा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान लिएर हिँडेका थिए। अन्तत: उनले फेरि अर्को पार्टीको जन्म दिएका छन्।
०००
मधेशमै आधार इलाका बनाएर जनता समाजवादी पार्टी पनि केही समयअघि मात्र निर्वाचन आयोगमा दर्ता भएको थियो। २३ वैशाख २०८१ मा उपेन्द्र यादव नेतृत्वको जनता समाजावदी पार्टी नेपाललाई विभाजन गरेर अशोक राईले उक्त पार्टी गठन गरेका हुन्।
राई एमालेको राजनीतिबाट उदाएको भए पनि यस पार्टीको आधार इलाका मधेश नै हो। उपेन्द्र नेतृत्वको पार्टीको यो पहिलो फुट होइन। उनको नेतृत्वको पार्टीको विभाजन संयोजनको रेखा लामै छ।
पार्टीभित्र आन्तरिक द्वन्द्वले उपेन्द्र र राई अलग भएका थिए। राई नेतृत्वको जसपा अहिले सरकारमा समेत छ। उपेन्द्रले भने तत्कालीन प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाइदिएको बताउँदै आइरहेका छन्।
उपेन्द्र मन्त्रीको हैसियतमा विदेश भ्रमणमा रहेको समयमा यता राईले पार्टी स्वच्छन्द हुँदै गएको, उपेन्द्रले एकलौटी गर्न थालेको आरोप लगाउँदै महाधिवेशन नजिकिएको समयमा पार्टी विभाजन गरिदिएका थिए।
यसरी एकपछि अर्को गर्दै विभाजनको शृङ्खला चलाइरहेका मधेशकेन्द्रित दलहरू फेरि पार्टी एकतासम्मको वकालत गरेर ‘मदेशवादी मोर्चा’ बनाउन हिँडिरहेका छन्।
जुन मोर्चामा मधेशकेन्द्रित अन्य दलको आलोचना गरी २०७९ को आमनिर्वाचनमा संसद्मा उदाएका डा. सि.के. राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि छन्।
साथमा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, उपेन्द्र यादवको जसपा नेपाल, अशोक राईको जसपा, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र रविशंकर कुमार कर्णको तराई मधेश लोकतान्त्रिक पार्टी छन्।
किन एक हुन लाग्दै छन् यी दलहरू?
मधेशकेन्द्रित दलहरू यही पुसदेखि एकाएक मोर्चा बनाउने कसरतमा छन्। उनीहरू मोर्चा हुँदै पार्टी एकीकरणसम्मको वकालत गरिरहेका छन्। तर, त्यो सम्भव छ वा छैन? नेताहरूलाई लागेको छ पछि थाहा हुन्छ।
किन मोर्चा बनाउन लाग्नु भएको हो? जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘किन बनाउन लागेको भन्दा पनि भर्खर मोर्चा बनाउने कुरा चलेको छ। बनेको छैन। बनेपछि थाहा हुन्छ।’
उनले मोर्चा बन्ने र पार्टी एकतासम्म हुने कुरा त्यति सहज देखेका छैनन्। किनकि उनले लामै पार्टी फुट र जुटको शृङ्खला देखेका छन्।
२०७९ मा संसद्मा उदाएको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जसले संविधान अपुरो छ भनेको छ उसलाई नै सामेल नगरी संविधान संशोधनको कुरा उठिरहेकाले आफूहरू एक हुन लागेको बताए।
गएको असार ३० गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदा मुख्य एजेण्ड संविधान संशोधन राखेका थिए। संविधान संशोधनमा संसदीय दल हुनका लागि १० प्रतिशतसम्म ‘थ्रेस होल्ड’ बढाउनेसम्मको चर्चा भएपछि साना दलहरू झस्किएका छन्।
साना दलहरूलाई १० प्रतिशत थ्रेड होल्ड कटाउन निकै कठिन छ। अहिलेको निर्वाचनसम्बन्धी ऐनमा प्रतिनिधि सभामा ३ र प्रदेश सभामा १.५ प्रतिशत मत ल्याउने दलले मत संख्याको आधारमा समानुपातिक सिट पाउने व्यवस्था छ।
अब यसलाई १० प्रतिशतसम्म बनाउने चर्चाले मधेशकेन्द्रितलगायत अन्य साना दल पनि झस्किएका हुन्।
‘सरकारमा भएका दलहरूले त संविधान बन्दा विश्वकै उत्कृष्ट भनेका थिए। तर, अहिले नै किन संशोधन गर्नुपर्यो?’, जनमत पार्टीका प्रवक्ता यादवले प्रश्न गर्दै भने, ‘फेरि संविधान जसले अपुरो छ भनेको थियो, उसलाई नै बाइपास (नसमेट्ने) गरेर संविधान संशोधन हुने हो भन्ने पनि छ। त्यसैले हामी एक हुन लागेको हो।’
उनले पहिले नै आदिवासी–जनजाति, मधेसीले संविधान अपुरो भनेको र फेरि उनीहरूलाई नै नसमेटेर संविधान संशोधनको प्रयास भएको बताए। ‘संविधान संशोधन हाम्रो लागि गर्ने हो। असन्तुष्ट पक्षलाई समेट्नका लागि संविधान संशोधन गर्ने हो। को हो असन्तुष्ट भन्दा आदिवासी–जनजाती, मधेसी जनता हो। हामीजस्ता इस्टेक होल्डरलाई समावेश नगरिकन संविधान संशोधन हुने हो कि भन्ने छ। त्यसैले हामी एक हुँदैछौँ’, यादवले भने।
यही माघमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य केशव झाले मोर्चा मात्र होइन पार्टी एकतासम्म हुन सक्ने बताए। तर, कसरी भन्नेमा उनी अन्योलमा छन्।
एकातिर पार्टी फुटाउँदै जाने अर्कोतिर फेरि पार्टी एक गरेर हिँड्ने प्रवृत्ति मधेशकेन्द्रित दलहरूमा देखिएको छ। खासमा मधेशकेन्द्रित दलहरू पार्टीभित्रको विवादमा विभाजन हुने गरेका दृष्टान्त छन्।
मधेशकेन्द्रित दललाई यतिसम्म आरोप लाग्ने गर्छ कि, पदका लागि पार्टी फुटाइदिन्छन्। त्यस्तो देखिन्छ पनि। २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको थियो।
संसद् विघटनको तीव्र विरोध भइरहेको समयमा यस पार्टीले एक निर्णय गर्न सकेन। गुटगत निर्णय भयो। केपी ओलीलाई साथ दिने र नदिनेबीच विवाद भएपछि महन्थ ठाकुर–राजेन्द्र महतोले ओलीलाई साथ दिए। डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीलाई साथ दिएनन्।
अन्तत: विवाद निर्वाचन आयोगमा पुग्यो र ठाकुर–महतो पार्टीविहीन भएका थिए। यस्ता उदाहरण मधेशकेन्द्रित दलहरूमा लामै देखिन्छ। सरकारमा केही मन्त्री हुनका लागि सामेल हुने मोहले २०६४ मा निकै बलियो गरी उदाएका मधेशकेन्द्रित दल अस्तित्व संकटमा पुग्ने गरी विभाजन भएका घटनाहरू रहेका छन्।
विगतमा राम्रो लय नसमातेका मधेशकेन्द्रित दल अब फेरि एक हुन सक्लान्? भन्ने प्रश्न उठाएको छ। कुन स्वार्थमा विभाजन भए र अहिले कुन स्वार्थमा एक हुन लागेका छन्? भन्ने प्रश्न यी दलहरूले खेप्नु परेको छ।
जसपाकी सांसद रञ्जुकुमारी झाले आफू मोर्चा बनाउने विषयमा धेरै जानकार नरहेको बताउँदै संविधान संशोधनको विषय उठेको र जहाँ आफ्ना विचार राख्नका लागि सहज होस् भन्ने हिसाबले मोर्चा बन्न लागेको हुन सक्ने बताइन्।
पहिले पनि थियो एक हुने प्रयास
मधेशकेन्द्रित दलको विभाजनको रेखा यति लामो छ कि उनीहरूको इतिहासलाई पनि त्यसले मात खुवाएको छ। नेपालको राजनीतिमा धेरै विभाजन हुने दलका रुपमा कम्युनिष्ट पार्टीलाई लिइन्छ।
मधेशकेन्द्रित दलको विभाजनको रेखा पनि जति छोटो पार्टी इतिहास छ, त्यति लामो विभाजनको रेखा बनेको छ। चार दशकअघि २०४७ सालमा गजेन्द्रनारायण सिंहले मधेशको शक्तिका रुपमा दलको जन्म दिएका थिए, नेपाल सद्भावना पार्टीलाई।
यो पार्टी यति धेरै विभाजन भयो कि आज सद्भावनाको अस्तित्व खोज्दा पनि नभेटिने अवस्थामा छ। सद्भावनाबाट आएका एक नेता राजेन्द्र महतो हुन्। उनी मुक्ति क्रान्तिसम्म पुगेका छन्।
सद्भावना पार्टीजस्तै मधेशमा विभाजित हुँदै सकिएका अनेक पार्टी छन्। त्यसैले त विभाजनले कमजोर भएका मधेशकेन्द्रित दलहरू यसअघि पनि एक हुने प्रयास पटक–पटक गरेका थिए।
साना–साना मोर्चाहरू एक हुँदै विभाजन हुँदै आए। २०६४ को पहिलो संविधान सभामा मधेशको क्रान्तिको तापबाट आएका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल ५४ सिटसहित संसद्को चौथो दल बनेको थियो। त्यसपछि यस पार्टी आफूलाई टुटफुटबाट ग्रसित हुँदा ०७० को दोस्रो संविधान सभामा १० सिटमात्र जितेर ८औँ स्थानमा झर्यो।
उस्तै हालत बन्यो महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को पनि। पहिलो संविधान सभामा २१ सिट जित्दै पाँचौँ भएको यो पार्टी दोस्रो संविधान सभामा ११ सिटसहित सातौँमा झर्यो। अन्य साना मधेशकेन्द्रित दलको त अस्तित्वसमेत खोज्ने अवस्थामा पुग्दै थिए।
अस्तित्व संकट हुने देखेपछि मधेशकेन्द्रित दलहरूले २०७४ को पहिलो आमनिर्वाचनमा भने एक हुने ठूलै प्रयास गरे। ०७४ को वैशाख ७ गते एक ऐतिहासिक मिलन भएको थियो मधेशकेन्द्रित दलको।
विभिन्न पार्टीबाट फुटेर टुक्रा बनेका महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एक भएर ‘राष्ट्रिय जनता पार्टी’ बनाएका थिए।
यस्तै, पार्टी बनेको आधा दशकमा टुक्राटुक्रा भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमलाई पनि दोस्रो संविधान सभाको निर्वाचनले एकताको अवस्थामा ल्याइपुर्यायो। २०७२ को जेठ ३२ गते अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपाल मिलेर ‘संघीय समाजवादी फोरम’ बन्यो।
यादव नेतृत्वको संघीय समाजवादी फोरम र ६ दल मिलेर बनेको राजपाबीच २०७४ को निर्वाचनमा सहकार्य भयो। पार्टी एकता गर्ने पनि कुरा भयो। तर, पार्टी एकता भएन। बरु यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भयो।
२०७७ वैशाख १० गते यादव नेतृत्वको समाजवादी पार्टी र ६ जना अध्यक्ष रहेको जसपाबीच पनि एकता भयो। केपी शर्मा ओली नेतृत्व सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि समाजवादी पार्टी र जसपाबीच एकता भएको थियो।
एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ रह्यो। सोही पार्टीको अध्यक्ष छन् उपेन्द्र। अन्य भने जहाँबाट आएका थिए। फेरि उतैउतै गइसकेका छन्।
अशोक राई जसपा लिएर गएका छन्। महन्थ ठाकुर लोसपा र डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी लिएर छुट्टिएका छन्।
अब फेरि उसैगरी मिल्ने भन्दै मधेशकेन्द्रित दलहरू मोर्चा र त्यसपछि पार्टी एकतासम्मको छलफलमा छन्।