उपत्यकाभित्रका यी रहस्यमय हत्या, पत्ता लागेनन् हत्यारा

उपत्यकाभित्रका यी रहस्यमय हत्या, पत्ता लागेनन् हत्यारा
+
-

काठमाडौं- कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बित्न लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले उभ्याएका अभियुक्त फर्जी भएको पुष्टि भएपछि उच्च प्रहरी अधिकारी नै अनुसन्धानमा तानिएका छन्।

सरकार नै हल्लाउने घटना बनेको यस प्रकरणपछि अपराधी चाँडोभन्दा चाँडो पत्ता राज्य शक्ती लागिपरेको छ। निर्मलाको हत्या भएको करिब एक महिनापछि राजधानीको उच्च सुरक्षा ब्यवस्था भएको क्षेत्रमा एक हाइ प्रोफाइल व्यक्तिको हत्या भयो।

फ्रान्सका लागि पूर्वराजदुत केशव झा बबरमहलस्थित आफ्नै घरमा सुतेकै ठाउँमा छुरा प्रहार गरी हत्या भएको अवस्थामा फेला परे। राति खाना खाएर ग्राउन्ड फ्लोरमा रहेको आफ्नो कोठामा सुतेका  झाको हत्या निकै रहस्यमय छ। झाका आफन्तले बिहान उनी नउठेपछि हत्या भएको चाल पाएका थिए। अनुसन्धानमा खटिएका प्रहरी अधिकारी अपराधी घरको छत हुँदै भुईतलामा आएर झाको हत्या भएको बताउँछन्।

झाको हत्याका विषयमा प्रहरी समेत अचम्मित छ। यसका पछाडि थुप्रै कारण छन्। त्यस घरमा झा र उनकी श्रीमती मात्र बस्दै आएका थिए। दुवै वृद्ध। मुल ढोकाबाहिर भान्से र सेक्युरिटी दुवै काम गर्ने एक व्यक्ति बस्थे। झा सँधै कुकुरसँग सुत्थे। उनी श्रीमती पहिलो तलामा सुत्थिन्। ‘मुल ढोकाबाट नगई अन्य ठाउँबाट भित्र छिर्न र झाको ओछ्यानसम्म पुग्न निकै गाह्रो छ। अन्धाधुन्ध छुरा प्रहार गरी झाको हत्या हुँदा कुकुरले कसरी थाहा पाएन?’ अनुसन्धान अधिकारी भन्छन्।

हत्याको शंकामा अनुसन्धानमा लिइएका भान्से र दुई जना माली दुवै सरकारी वकिल कार्यालयको रोहबरमा छुटिसकेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार हरेक वर्ष हजारौं मुद्धा अभियुक्त पत्ता लाग्न नसकेपछि ‘पेन्डिङ’ हुन्छन्।

२० वर्षअघि ललितपुरको त्यो हत्या  

पसलमा रहेकी सासूलाई श्रीमतीले बनाइदिएको चिया पुर्‍याएर कृष्णमान व्यञ्जनकार अफिसतिर लागे। सासू ज्ञानमाया मानन्धरले केही बेरमा घरमा रहेकी छोरी शान्तिलाई फोन गरिन् तर उठेन। लगातार फोन नउठेपछि शान्तिले ज्वाइँ कृष्णमानलाई फोन गरिन्। कृष्ण आत्तिँदै घर पुगे। ढोका खुलै थियो। तर, फोन लाइन काटिएको रहेछ। तेस्रो तलामा पुग्दा कोठामा क्षतविक्षत अवस्थामा ३० वर्षीया श्रीमती शान्तिको शव देखे।

ललितपुरको खपिन्छेमा ०५५ साल भदौ २४ गते दिउँसो भएको घटना हो यो। घटना भएको १९ वर्ष बित्न लाग्दा शान्तिको हत्या कसले गर्‍यो खुल्न सकेको छैन। श्रीमान् कृष्णमान र आमा ज्ञानमायाले छुट्टाछुट्टै जाहेरी दिँदै कर्तव्य ज्यानमा घटनाको अनुसन्धानका लागि निवेदन दिएका थिए। मृतकका दुई छोरी र एक छोरा थिए। दाजुभाइ कोही नभएकाले शान्ति आमासँग बस्दै आएकी थिइन्। कृष्णमान पनि प्राय: त्यहीँ बस्थे। कृष्णमान र ज्ञानमाया दुवैको काठ पसल भएकाले प्रहरीले त्यहीँ काम गर्नेमाथि शंका गरेर अनुसन्धान अगाडि बढायो। तर, अपराधी पत्ता लागेनन्।

१४ वर्षअघि सुन व्यवसायी दम्पतीको हत्या 

राजेशकाजी शाक्य र श्रीमती आशामाया साँझ आफ्नो सुन पसल बन्द गरी घर जान लाग्दा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्‍यो। राजेशकाजीको घटनास्थलमै र आशामायाको उपचारक्रममा ज्यान गयो। आक्रमणकारीले सुनका गरगहना पनि लुटे। घटनाको अनुसन्धानमा पूर्वसैनिक सुमन गिरी तानिए। लुटिएको सुन सुमनले धर्मपथस्थित नेपाल बैंकमा धितो राखी पैसा निकालेको फेला पर्‍यो। त्यतिबेला छुट्टै घटनामा सैनिक अदालतको आदेशले थुनामा रहेका सुमनको संलग्नताबारे प्रहरीले पर्याप्त प्रमाण जुटाउन सकेन। काठमाडौंको बांगेमुडामा ०६१ साल असोज ११ गते भएको यो हत्याकाण्ड अझै अनुसन्धानक्रममा छ।

दिवाकर चन्दको हत्या प्रकरण 
पाँच वर्षअघि ललितपुरको सानेपास्थित एक घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ५५ वर्षीय दिवाकर चन्दको शव सडेगलेको अवस्थामा उनकै फ्ल्याटमा भेटियो।

परिवारसँग मनमुटाव भएपछि उनी एक्लै बस्दै आएका थिए। पोस्टमार्टम रिपोर्टमा चन्दको घाँटी थिचेर हत्या भएको देखियो। घरबेटी उक्त घरमा नबस्ने र चौथो तला पूरै भाडामा लिएर बसेकाले चन्दको हत्या कहिले भएको थियो भन्ने प्रहरीले पत्ता लगाउन सकेन।

कर्तव्य ज्यानसम्बन्धी मुद्दाको २० वर्षसम्म हद म्याद हुन्छ। मुद्दा दर्ता भएको बढीमा २० वर्षभित्र अनुसन्धान गरेर अदालतमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। २० वर्षसम्म हत्यारा पत्ता लाग्न नसके त्यस्ता मुद्दा तामेलीमा जान्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?