
काठमाडौँ – काभ्रेपलाञ्चोकस्थित महाभारत जङ्गलमा यही माघ ८ गते एकाएक आगोको झिल्को देखियो। त्यो खानीखोला गाउँपालिका–१ को चिसापानी सामुदायिक वनमा थियो।
त्यो झिल्को स्वभाविक रुपमा डढेलो बन्ने थियो, बन्यो। यसरी बन्यो कि झिल्को देखिएको चार दिन (माघ ११ गते शुक्रबार)मा बस्ती बचाउन हम्मेहम्मे भयो।
खानीखोला– १ को त्यो डढेलो नजिकै रहेको बेथानचोक गाउँपालिका– २ को रमित्तेडाँडामा पुग्दा उसले उग्ररुप धारण गरिसकेको थियो।
त्यसलाई नियन्त्रण गर्न स्याउला (रुखका हाँगा)ले हिर्काएर सम्भव थिएन। जिल्ला प्रशान कार्यालयले अन्तत: आपतकालीन रुपमा हेलिकप्टर मगायो। चार घण्टा (दिनको १ बजेदेखि साँझ ४ बजेसम्म) हेलिकप्टरले जङ्गलमा पानी खन्यायो। सिम्रिक एयरको हेलिकप्टर, प्रहरी र स्थानीयको सहयोगमा रमित्तेडाँडाको डढेलो बस्ती पस्न पाएन।
रमित्तेडाँडाको त हेलिकप्टरबाट आगो नियन्त्रण गरिएको छ तर सोही क्षेत्रको अन्य ठाउँमा डढेलो नियन्त्रण बाहिर पुगिसकेको छ। ‘नियन्त्रणको प्रयास त भएको छ। यहाँ (वन कार्यालय)बाट कर्मचारी जानुभएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण प्रयास भएको छ’, डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोककी सूचना अधिकारी सरिता लामाले भनिन्, ‘तर डढेलो अन्य वन क्षेत्रमा फैलिरहेको छ।’
उनकाअनुसार अहिले बेथानचोक गाउँपालिका १,२, ३ र ५ नम्बर वडाको ८ वटा सामुदायिक वनमा डढेलो लागिरहेको छ। जुन १०० हेक्टरभन्दा बढीमा फैलिसकेको छ।
यी ठाउँमा हेलिकप्टर प्रयोग गरेर डढेलो नियन्त्रण गर्न सम्भव छैन। किनकि सरकारसँग हेलिकप्टर प्रयोग गर्ने सामर्थ्य छैन। आपतकालीन रुपमा मात्र हेलिकप्टर प्रयोग गरेर डढेलो नियन्त्रण गरिने गरिएको छ।
काभ्रेपलाञ्चोकमा मात्र होइन, डढेलो देशका अन्य वनमा पनि सुरु भइसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोलुखुम्बु र भोजपुरमा पनि डढेलो लागिरहेको छ। यो विवरण शनिबारसम्मको हो।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यत्ति नै ठाउँ भन्ने थाहा नभए पनि ७–८ जिल्लातिर आगलागी भएको जानकारी आएको बताए। उनले अब सुख्खायाम सुरु भएको भन्दै डढेलो दैनिक बढेर जाने अनुमान गरे।
डढेलो बढ्ने कि घट्ने भन्नेमा मुख्यरुपमा मनसुनमा निर्भर रहनुपर्ने अवस्था छ। पानी धेरै परेमा डढेलो कम हुन्छ। पानी परेन भने डढेलो बढेर जान्छ। पछिल्लो केही वर्षदेखि नेपालमा भने हिउँदे वर्षा निरन्तर घटिरहेको छ। जसले डढेलो बढाइरहेको छ।
हिउँद भनेर मङ्सिर १५ देखि फागुन १६ सम्मलाई मान्ने गरिएको छ। यो समयावधिमा यस वर्ष पानी कम पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरिसकेको छ।
हिउँदयाममा सरदर ६० मिलिमिटर पानी पर्ने गरेकोमा केही वर्षादेखि यो निरन्तर घटिरहेको छ। यस वर्ष पनि यसभन्दा कम पानी पर्ने पूर्वानुमान भइसकेको छ। तर कति पानी पर्छ भन्ने अनुमान भने गरिएको छैन।
गत वर्ष विस २०८० को हिउँदमा सरदर १२.५ मिलिमिटर मात्रै वर्षा भएको थियो। अहिले त्योभन्दा कम हुन्छ कि सरदर वर्षा हुने भन्दा कम भन्नेमा खुलाइएको छैन।
तर कम वर्षा हुने पूर्वानुमानले यस वर्ष पनि डढेलोको उग्ररुप देखा पर्ने अनुमान गर्न सकिन्छ। गत वर्ष कम वर्षा हुँदा झण्डै ५०० ठाउँमा डढेलो लागेको थियो।
स्याउलाको भरमा डढेलो नियन्त्रण
गत वर्ष डढेलो नियन्त्रण बाहिर गएको थियो। महाभारतसँगै चुरे पहाडमा लागेको डढेलोले कैयन बस्ती जलेका थिए। कैयनको ज्यान लिएको थियो।
विपद् प्राधिकरणकाअनुसार गत आर्थिक वर्ष (आव) २०८०/०८१ मा आगलागीमा परी ११६ जनाले ज्यान गुमाएका थिए भने अघिल्लो आव ०७९/८० मा १११ जना, आव ७८/७९ मा ९१ र आव ०७७/७८ मा ८१ जनाले ज्यान गुमाएका थिए।
आगलागीका घटना बढेसँगै भौतिक तथा मानवीय क्षतिसमेत बढिरहेको देखिन्छ। तर अहिले पनि सरकारसँग आगो नियन्त्रणका लागि स्याउला प्रयोग गर्नेबाहेक अर्को उपाय छैन।
सरकारले हरेक वर्ष डढेलो नियन्त्रणका लागि काम गरिने भन्छ। यस आवमा पनि डढेलो नियन्त्रणका लागि उपकरण खरिद गरिने भनेको थियो। तर हिउँद लागेर डढेलो सुरु भइसकेको छ, उपकरण भने खरिद भएको छैन।
बरु सरकारले भएको जनशक्ति पनि कटौती गरेको डिभिजन वन कार्यालयहरू बताउने गर्छन्। ‘गएको वर्ष १० जना फायर फाइटर थिए। ती पनि अहिले छैनन्। आगो निभाउने उपकरण त के हुन्थ्यो र’, एक डिभिजन कार्यालयका कर्मचारीले देश सञ्चारलाई भने।
उनले डढेलो नियन्त्रका लागि जनशक्ति न उपकरण केही नभएको बताए। स्थानीयको सहयोगमा त्यही स्याउला प्रयोग गर्नुपर्ने बाध्यता रहेको ती कर्मचारीको भनाइ छ।
प्राधिकरणका प्रवक्ता भट्टराई भने जिल्ला प्रशासन कार्यालयमार्फत जनशक्ति परिचालन गरेर डढेलो नियन्त्रणका लागि प्रयास भइरहेको बताउँछन्।
उनले यस वर्ष गत वर्षको जस्तो डढेलो भयावह हुन नदिने बताए। ‘गत वर्ष त निकै धेरै डढेलोले वन सकायो। करिब ५०० जति ठाउँमा डढेलो लागेको थियो’, उनले भने, ‘अहिले यस्तो अवस्था आउन नदिने गरी काम भइरहेको छ।’
ज्ञानको कमी
डढेलो लाग्नुमा मूख्य कारण मानवीय लापरवाही नै देखिने गरेको छ। काभ्रेपलाञ्चोकमा लागेको डढेलो पनि सिकारीले लगाएको हुन सक्ने अनुमान गरिएको छ।
वनमा डढेलो लगाउनु दण्डनीय कार्य हो। तर पनि नागरिकहरूमा त्यो ज्ञान पुगेको छैन वा पुगेको भए पनि त्यसको प्रवाह नागरिकलाई छैन। किनभने जनचेतना जगाउन सरकार सिकरहेको छैन।
डढेलो नियन्त्रणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अपाउनुपर्ने सरकारवालाहरूले सरकारलाई सुझाव दिइरहेका छन् तर त्यसको कार्यान्वयन ढिलाइ भएको देखिन्छ।
वनको डढेलो कसरी निभाउने भन्नेमा नागरिकमा सचेतना देखिँदैन। साना–साना गल्ती गर्दा नागरिकले ज्यान गुमाउने गरेका उदाहरणहरू छन्। नागरिकमा मात्र होइन डढेलो नियन्त्रका लागि सुरक्षाकर्मीमा पनि प्रयाप्त तालिम नदिइएको देखिन्छ।
गत वर्ष चैतमा डोल्पामा डढेलो निभाउन वनमा गएका ३ सैनिकको जलेर ज्यान गएको थियो। जुन डढेलो नियन्त्रणमा सरकारको पहल कति कमजोर छ? जनशक्ति कस्तो तयार पारेको छ भन्ने देखाउने घटना हो।