
एमालेमा भित्रने तयारी गरेका वामदेव गाैतमलाई एमाले आफैँ भने भित्र्याउन तयार देखिएको छैन।
अघिल्लो दिनसम्म नेकपा एकीकृत समाजवादीसँग एकताका लागि छलफलमा रहेका गौतम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकाएक छलफल गरी एमालेमा भित्रने तयारी गरेका थिए।
माघ ४ गते एमाले अध्यक्ष ओली र गौतमबीच छलफल भएको थियो। त्यसको ५ दिनपछि माघ ९ गते एमाले सचिवालय बैठकले गौतमलाई पार्टीमा भित्र्याउने भन्दा पनि उनको ‘एकता अभियान’सँग सहकार्य मात्र गर्ने निर्णय गर्यो।
त्यसपछि गौतम एमालेसँग रुष्ट छन्। पार्टी एकतासम्मको आकांक्षामा बसेका गौतमलाई एमालेले तत्काल पार्टी एकता नगर्ने र सहकार्य गर्ने निर्णय गरेपछि गौतम अब एमालेमा भित्रने बाटो सकिएको निष्कर्षमा पुगेका छन्।
गौतमले आफ्नो अभियानसँग एमालेले सहकार्य गर्ने निर्णय गरेको कुरा सुनेको भए पनि आधिकारीक रुपमा एमालेले आफूलाई कुनै जानकारी नगराएको बताए।
हामीले गौतमसँग बिहीबार एमाले पार्टीसँगको सहकार्यको निर्णय के भएको छ? सरकारले ल्याएको विवादित सामाजिक सञ्जालसम्बन्धी विधेयकका विषयमा धारण केहो?लगायत विषयमा कुराकानी गरेका छौँ।
प्रस्तुत छ, गौतमसँग देशसञ्चारका लागि टोपेन्द्र रोका मगरले गरेको कुराकानीको सम्पादित अंश:
एमालेले सहकार्य गर्ने भनेपछि एकता भइसक्यो, अब म पार्टी अफिस जाने आउने गरिहाल्छु भन्नु भएको थियो। जान थाल्नु भयो कि भएन?
उहाँहरूले बोलाउनु भएन, त्यस कारणले म एमाले पार्टी कार्यालय गएको छैन।
सहकार्य गर्ने भनेपछि अहिले के भइरहेको छ?
कुनै कुरै भएको छैन। कुनै मतलब गरिएको छैन।
अब के गर्नुहुन्छ तपाईं?
हामीसँग एमालेले सहकार्य गर्ने भनेर निर्णय गरेको भन्ने सुनेको हुँ। तर हामीसँग कहिलेदेखि कस्तो सहकार्य गर्ने भन्ने औपचारिक जानकारी छैन।
अब एमालेले कुनै वास्ता नगरेपछि मसँग पुरानै पार्टी छ। त्यसैलाई सञ्चालन गर्ने गरी योजना बनाउँदै छु। त्यो योजना बनिसकेपछि हामी त्यही पार्टीलाई अगाडि बढाउँछौँ।
एमालेले सहकार्य गर्ने निर्णय गर्नु पहिले पनि तपाईँले पार्टी एकता लागि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत साना दलसँग कुरा गर्नु भएको थियो। अब के अन्य पार्टीसँग एकता हुन्छ?
अहिलेसम्म कुनै योजना छैन। अन्य पार्टीहरूले पनि कुनै वास्ता गर्नु भएको छैन। हामी पनि खोज्दै गएका छैनौँ।
आफ्नै पार्टीलाई अगाडि बढाउने भन्नुभयो, सम्भव देख्नुभएको छ?
अहिले आफ्नै पार्टीलाई अगाडि बनाउने गरी योजना बनाउने काम भइरहेको छ। पार्टी कसरी अगाडि बढ्छ, कसरी बढाउने भन्ने समय लाग्छ।
सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोध भइरहेको छ। उक्त विधेयक तपाईंलाई कस्तो लागेको छ?
हामी त व्यक्तिगत रुपमा भन्ने हो भने अनलाइनबाट ज्यादै पीडित व्यक्ति हो। भएको, नभएको अनेक चरित्र हत्या गरिएको छ।
मेरो चरित्र हत्या हुँदा पनि धेरै पटक अदालत जाने कोशिस गरें। तर साथीहरूले भन्नुभयो यस्ता विषयमा अदालत नजानुस्। त्यसपछि म गइन।
सामाजिक सञ्चालको केही न केही नियन्त्रण त हुनुपर्छ।
सरकारले ल्याएको सामाजिक सञ्चाल नियन्त्रण गर्नेसम्बन्धी विधेयक हुबहु पारित होस् भन्नु भएको हो कि परिमार्जन गरेर संसद्बाट पारित होस् भन्नुभएको हो?
सरकारले ल्याएको उक्त विधेयक राम्रोसँग त पढिसकेको छैन मैले। त्यसैले सबै जानकारी छैन। तर नराम्रो किसिमले टाउको एउटाको, पिँध एउटाको, खुट्टा अर्कोको, गीत एउटाको, नाच अर्कोको ल्याएर मिसाइदिन्छन्, बोली एउटाको, शरीर अर्कोको गर्छन् यो ज्यादै बेठिक भएको छ।
यो चिजलाई त नियन्त्रण गर्नुपर्छ। अरु किसिमको नियन्त्रण गर्ने काम भने गर्नु हुँदैन। मिडियामा जो कोही पनि जान पाउनुपर्छ। जो कोहीले पनि त्यसलाई प्रयोग गर्न पाउनुपर्छ। तर मर्यादित हुनुपर्छ।
पूर्व राष्ट्रपति, उपराष्ट्रपति फेरि राजनीतिमा फर्किने गरी प्रयास भइरहेको छ। राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा आउनु कति उचित हो?
मैले त पाँच महिनाअघि नै भनेको हुँ। नेकपा एमालेको नेता र पार्टी अध्यक्ष विद्यादेवी भण्डारी नै हो। उहाँ राजनीतिमा आउनुहुन्छ। कसैले पनि उहाँलाई रोक्न सक्दैन। उहाँ पार्टी राजनीतिमा आएपछि सैद्धान्तिक रुपले, वैचारिक रुपले एमाले पार्टी सही किसिमले अगाडि बढ्न सक्छ।
नराम्रो किसिमले टाउको एउटाको, पिँध एउटाको, खुट्टा अर्कोको, गीत एउटाको, नाच अर्कोको ल्याएर मिसाइदिन्छन्, बोली एउटाको, शरीर अर्कोको गर्छन् यो ज्यादै बेठिक भएको छ। यो चिजलाई त नियन्त्रण गर्नुपर्छ। अरु किसिमको नियन्त्रण गर्ने काम भने गर्नु हुँदैन।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पनि माओवादी राजनीतिमा फर्किने कुरा छ नि?
उहाँलाई पनि पार्टी राजनीतिमा आउन दिनुपर्छ। उपराष्ट्रपति त झन आउन पाउनुपर्छ भन्छु म। उपराष्ट्रपतिको त पदमा हुँदा पनि खासै कामै थिएन।
कहिलेकाहीँ राष्ट्रपति नहुँदा उपराष्ट्रपति देखा पर्ने हो। नत्र उपराष्ट्रपतिको कुनै भूमिका छैन। अब फेरि पार्टीले राष्ट्रपति बनाउछु भनेपछि राष्ट्रपति बन्नका लागि बसे हुन्छ, होइन भने पार्टी राजनीतिमा फर्कनुपर्छ।
होइन भने संवैधानिक राष्ट्रपति नभएर मानार्थ राष्ट्रपति भएका र उपराष्ट्रपति झन मानार्थ हो, त्यसैले उहाँहरू पद समाप्त गरेर राजनीतिमा आउँछु भन्न पाउनुहुन्छ।
राष्ट्रको अभिभावक भइसकेको व्यक्ति सबैको हुनुपर्छ फेरि पार्टी राजनीतिमा किन फर्कनुपर्यो?
राष्ट्रको अभिभावक त पदमा हुञ्जेलमात्र हो। पदमा नभइसकेपछि कसरी राष्ट्रको अभिभावक भयो र? पदमा नभइसकेपछि त उहाँहरू घरको अभिभावक हो।
विद्या भण्डारी त राजनीतिमा आइसकेपछि त कम्युनिस्ट आन्दोनलाई एकतावद्ध गर्न मद्दत पुग्छ भन्ने लाग्छ।
तपाईंले राष्ट्रपति फेरि राजनीतिमा आउन पाउनुपर्छ भन्नुका पछाडि कतै एमालेमा फेरि आफूलाई राजनीतिक स्पेस हुन्छ भन्ने लागेर हो कि?
के हो भने विद्यादेवी एमालेमा आउनुभयो भने सम्भवत: मलाई उहाँले खोज्नुहुन्छ। मेरो योगदानको सम्बन्धमा उहाँले धेरै जान्नु भएको छ। मदन भण्डारीले उहाँसँग धेरै कुरा गर्नु भएको छ। मैले के–के गरेको छु भन्ने उहाँले बुझ्नु भएको छ।
केपी शर्मा ओलीलाई अगाडि बढाउनका लागि मैले के–के गरेँ, उनको जीवन रक्षाका लागि पनि। अरु सबै नेताका लागि पनि मैले के–के गरेँ भन्ने उहाँले थाहा पाउनु भएको छ। त्यसको मूल्याङ्कन गर्न सक्ने व्यक्ति उहाँ (विद्या) हो।
त्यसैले म नेकपा एमालेमा जाउँ कि नजाउँ तर एमालेका लागि विद्या भण्डारी अत्यन्त उपयुक्त व्यक्ति हो।
अमेरिकाको राष्ट्रपति भइसकेपछि डोनाल्ड ट्रम्पले जसरी विश्वलाई प्रभावित पार्ने गरी नीति अवलम्बन गरेका छन्। जस्तै: जलवायु परिवर्तनका सम्बन्धमा होस् वा अन्य देशलाई दिएको सहयोग रोक्ने वा आप्रवासीलाई निकाल्ने नीति, यसलाई कसरी हेर्नु भएको छ?
अमेरिकाले विश्वव्यापी रुपमा प्रभाव कायम राख्नका लागि धेरैजसो विकासन्मुख देशलाई सहयोग गरेको छ। विकसित देशलाई पनि सहयोग गर्ने गर्छ, आफ्नो प्रभाव जमाउनका लागि।
ट्रम्पले अहिले जसरी सहयोग रोक्ने नीति अवलम्बन गरेका छन्, यो धेरै समय रोक्ने कुरा हुँदैन। केही समयमा यस्तो नीति खुला गरिहाल्छन्। सधैंभरी यसरी ट्रम्प अगाडि बढ्न सक्दैनन्।
अमेरिका भूगोलमा लगभग चीनसँग बराबर छ। अमेरिकामा यति जमिन छ, यति जङ्गल, यति समुन्द्र छ त्यस्तो अमेरिकाको विकासका लागि दिनको हजार जना, अमेरिका जाने र त्यहाँबाट हजार जना निस्कने भयो भने न त्यहाँको अर्थतन्त्र चल्छ।
अमेरिकाले मान्छे जाने त बन्द गर्न सक्दैन किनभने त्यहाँको अर्थतन्त्र नै त्यस्तै छ। त्यसैले पनि अमेरिकाले विश्वव्यापी प्रभावका लागि विकासन्मुख देशलाई दिँदै आएको आर्थिक सहयोग दिनुपर्छ। नदिएर अमेरिका अगाडि जानै सक्दैन।
ट्रम्पले किन यस्ता नीति अवलम्बन गरेका होलान्?
निर्वाचनको समयमा उनले ज्यादै अमानवीय रुपमा प्रचार गरे। यहाँ आएर यस्तो गर्ने, उस्तो गर्ने, यहाँ आएर लुट्ने, यहाँ गलत किसिमको गतिविध गर्ने यो त गोराहरूको देश हो, कालाहरू बस्न पाइन्छ र? भन्ने जस्ता कुराहरू उनले निर्वाचनको प्रचारकाबेला गरे।
तर अमेरिका काला नभइकने त्यहाँ चल्दैन। कालाजाति अमेरिका बस्न थालेपछि त्यो देश अमेरिका अहिलेको अमेरिका भएको हो।
उनीहरूलाई लखेटेर त्यहाँ राज गर्न कसैले सक्दैन।
अवैध रुपमा बसेको भन्दै अमेरिकाले हजारौँलाई देश निकाला गरिरहेको छ। यो कति उपयुक्त हो?
अवैधरुपमा त कुनै पनि देशमा बस्न पाइँदैन नि। त्यो त अमेरिकाले मात्र होइन, हामीले पनि अवैध रुपमा बसेको छ भने त निकाल्ने नै हो।