
मुगु – कालीकोटको नाग्मदेखि मुगुको गमगढीसम्मको ९६ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट छुट्टाए पनि काम कछुवाको गतिमा भइरहेको छ। यात्रुहरू यो सडकको निर्माण ढिलाइले सास्ती झेल्न बाध्य भएकम छन्।
कर्णाली राजमार्गको दुरवस्थाका कारण गाडी भन्दा महँगो भए पनि रहर नभएर बाध्यताले सुरक्षित र सहजताका लागि हवाई मार्ग रोज्ने गरेको एक यात्रुले गुनासो गरेका छन् । कर्णालीबासीले महँगो भाडामा गाडी भन्दा प्लेन चढ्नु रहर नभई बाध्यता बनेको उनकाे भनाइ छ।
हरेक वर्ष निर्माण कम्पनीहरूले विभिन्न कारण देखाउँदै विनियोजित बजेट खर्च गर्न नसक्ने, बजेट फ्रिजमा जाने, र फेरि म्याद थपेर दायित्व भुक्तानीका लागि पहल गरिने प्रचलनले यो सडक निर्माणको गति ठप्प जस्तै बनेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १५ करोड रुपैयाँ बजेट छुट्याए पनि सम्बन्धित निर्माण कम्पनीलाई दायित्व भुक्तानी हुने भएको हुनाले टेण्डर प्रक्रिया अघि नबढाईएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सुरेन्द्र चाौधरीले जानकारी दिए।
उनले भने, ‘नयाँ टेण्डरका लागि सरकारसँग बजेटको माग गरेका छौँ तर अहिलेसम्म बजेट प्राप्त भएको छैन सरकारको प्राथमिकतामा परेको भए उहिल्यै कालो पत्रे भइसक्थ्यो।’
यो सडक निर्माणका लागि खड्का कृष्ण गालावा क्याराभान जेभी (काठमाडौं), शंकरमाली निर्माण सेवा (काठमाडौं), र विकास श्रेया जेभी (चंखेली, हुम्ला) का निर्माण कम्पनीले जिम्मा पाएका थिए। तर, ठेकेदारहरूको लापरवाही र बिनियोजित न्यून बजेट समेत विभिन्न कारण देखाउदै खर्च गर्न नसक्दा हरेक वर्ष रकम फ्रिज हुने गरेको पनि सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।
यात्रुलाई सहज यातायात सेवा प्रदान गर्न सरकार र निर्माण कम्पनीको जिम्मेवारीप्रतिको उदासीनताले यो क्षेत्रको विकासमा ठूलो बाधा पुर्याएको स्थानीयकाे आराेप छ।