
जनकपुरधाम – जनकपुरधाममा बिहीबारदेखि छैटौँ जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ। नव मिथिला फाउन्डेशनले महोत्सव आयोजना गर्न लागेको हो।
मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै फाउन्डेशनका अध्यक्ष अमित कुमार साहले बिहीबारदेखि शनिबारसम्म हुने महोत्सवमा विभिन्न १७ वटा शिर्षकमा छलफल हुने बताए।
यस वर्षको महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसरहरु’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट समस्या, समाधान र सम्भावना’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘संघीय दृष्टिमा मधेश’ लगायतका १७ वटा शीर्षकमा बसह हुने आयोजकले जनाएको छ।
महोत्सवमा १४ वटा प्यानल डिस्कसन र ३ वटा एकल प्रवचन समेटिएको आयोजकको भनाइ छ।
‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ सेशनमा वक्ताको रुपमा राजनीतिक विश्लेषक सिके लाल रहेका छन्। यस्तै, ‘जनकपुरधामक चुनौती आ अवसर सब’ सेशनमा जनकपुरधामका मेयर मनोज साह र पूर्वमेयर बजरंग साह तथा वृषेशचन्द्र लाल रहने छन्।
‘क्रिकेटः समस्या, समाधान र सम्भावना’ सेशनमा सुयशराज प्याकुरेल, भावना घिमिरे र सुदिप शर्मा वक्ताको रुपमा रहेका छन्।
तीन दिनसम्म चल्ने महोत्वसवमा भूषिता वशिष्ठ, रामअशिष यादव, मंचला झा, डा. सुरेन्द्र लाभ, दीपकराज जोशी, रानी शर्मा तिवारी, कञ्चन राय, पवित्रा बहादुर गौतम, अनिल महासेठ, वर्षा भण्डारी, निशा डाँगी, पुरन साह रौनियार, रहबर अन्सारी, तुलानारायण साह, सुधीर शर्मा, इम्तियाज वफा, मनीष झा, विप्लव प्रतीक, विभा झा, घनश्याम खड्का, कुलमान घिसिङलगायतका वक्ता रहने आयोजकले जनाएको छ।