
काठमाडौँ- संसदमा निर्णार्थ प्रस्तुत हुने अध्यादेशलाई पारित गराउनका लागि जनता समाजवादी पार्टी नेपाललाई मधेश प्रदेशको मुख्यमन्त्री दिन सत्ताधारी दल तयार भएका छन्।
नेपाली काँग्रेसका एक नेताका अनुसार राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन सत्ताधारी दलहरू मधेश प्रदेशको मुख्यमन्त्री जसपालाई दिन तयार भएका हुन्।
ती नेताले भने, ‘हामीले चाहिँ यादवजीको पार्टीबाट समर्थन माग्ने अनि हामीले नदिने भन्ने कुरै हुँदैन।’
अहिले मधेश प्रदेशको मुख्यमन्त्रीमा सिके राउत नेतृत्वको दल जनमत पार्टीका सतिशकुमार सिंह रहेका छन्। राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन जसपा निर्णायक बनेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवसँग बुधबार र बिहीबार गरी काँग्रेस सभापति शेरबहादुर देउबाले पटक-पटक भेटवार्ता गरेका थिए।
भेटका क्रममा यादवले मधेश प्रदेशको मुख्यमन्त्री मागेको नेताहरूले बताएका छन्।