
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले ६ जना स्रष्टालाई सम्मानित एवम् पुरस्कृत गरेको छ।
‘राष्ट्रिय कलाश्री सम्मान २०८१’ बाट संस्कृतिविद् प्रा.डा.वीणा पौड्याललाई सम्मान र ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८१’बाट कवि विश्वविमोहन श्रेष्ठ लाई पुरस्कृत गरेको छ। ताम्रपत्रसहित सम्मान र पुरस्कारकाे राशि जनही एक लाख रहेकाे छ।
बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका सम्पादक तथा उपन्यासकार बसन्त बस्नेतलाई प्रदान गरिएको छ।
स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई दिइएको छ। थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक तथा संकलक कमलीकान्त भेटवाललाई प्रदान गरिएको छ।
राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स(सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०–५० हजार रुपैयाँ राशि छ।
प्रमुख अतिथि कविवर तुलसी दिवसले सम्मानित तथा पुरस्कृतहरूलाई सम्मान र पुरस्कार प्रदान गरे।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. पौड्याल एवम् पुरस्कृत कविहरू श्रेष्ठ र गुरुङले आफ्नो धारणा राखे।
उक्त कार्यक्रममा प्रमुख अतिथि दिवस, प्रतिष्ठानकी अध्यक्ष कवि निबन्धकार मोमिला, डा. विमल कोइराला र राजेश्वर कार्कीले बोले ।