
काठमाडौं– नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन्। बिहीबार हुने पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा उनीहरुलाई कूलपति स्वर्ण पदक प्रदान गर्न लागिएको हाे।
कलेजको स्नातकोत्तर तहअन्तर्गत कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका हुन्।
कलेजका विद्यार्थी आशिष पोखरेल, मनोज अर्याल, निश्चल सिलवाल, कुशल भुसाल, मनिषा भट्टराई र स्वस्तीका भट्टराईले कूलपति स्वर्ण पदक प्राप्त गरेको नेक सिपिएसका कार्यवाहक एकेडेमिक कोअर्डिनटर एशोसिएट प्रोफेसर रोवर्ट डंगोलले बताए। स्नातकोत्तर तहमै अध्ययनरत अन्य ८ जना विद्यार्थी डीन लिस्टमा पर्न सफल भएका छन्।
कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार यस पटकको दीक्षान्त समारोहमा स्नातकोत्तर र स्नातक तहका ३४ जना बिद्यार्थी कूलपति स्वर्ण पदक र डीन लिस्टमा पर्न सफल भएका छन्।
‘६ जनाले कूलपति स्वर्ण पदक पाउँदै हुनुहुन्छ। स्नातक तहका २० जना र स्नातकोत्तर तहका ८ जना विद्यार्थी डीन लिस्टमा पर्न सफल हुनुभयो,’ मिडिया रिलेसन अफिसर झाले भने।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्येकै उत्कृष्ट शैक्षिक संस्था हो। केही समय अगाडी मात्रै कलेजका इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थी इन्जिनियर अनिलकुमार यादवले नेपाल टेलिकममा सबैभन्दा कम उमेरमा नाम निकाल्न सफल भएका थिए। उनी पोखरा विश्वविद्यालयकै टपर समेत थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिद्वारा सञ्चालित यो कलेजलाई नेपाल इन्जिनियरिङ परिषद्ले समेत स्थायी अनुमति प्रदान गरेको छ। कलेजको शैक्षिक स्तर, भौतिक पूर्वाधार, शिक्षक शिक्षिकाहरुको गुणस्तर लगायतको अध्ययन गरेर परिषद्ले स्थायी अनुमति प्रदान गरेको हो।
नेक सिपिएस अन्तरगत स्नातकोत्तर तहमा कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, इन्टर डिस्प्लनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट विषयमा २०२५ का लागि भर्ना खुला छ।