अन्तर्वार्ता:

आधुनिक समाजलाई घचघच्याउन ‘मुनामदनको डिभोर्स पार्टी’ लेखें

आधुनिक समाजलाई घचघच्याउन ‘मुनामदनको डिभोर्स पार्टी’ लेखें
+
-

‘मुना-मदनको डिभोर्स पार्टी’ कथासंग्रह प्रकाशनमा ल्याएका लेखक तथा पत्रकार दीपक समीर (आचार्य) काभ्रेको पाँचखालमा जन्मिएका हुन्। बाल्यकालदेखि नै गीतिकथा र नाटक लेख्ने समीरका कथा कुनै समय रेडियोमा वाचन पनि हुन्थे। एसएलसीपछि रेडियोमा नाटक लेखन र अभिनय गर्ने अवसर पाएका समीर हाल नेपाल टेलिभिजनमा कार्यरत छन्। नाट्यशैलीमा कथा भन्न रुचाउने समीरले सामाजिक मुद्दामा आधारित कथालाई पनि स्वरैकल्पनामा प्रयाेग गर्दै आइरहेकाे दाबी गर्छन्। प्रकाशित कथासंग्रह ‘मुना-मदनको डिभोर्स पार्टी’ मा केन्द्रित रहेर देश सञ्चारका लागि गरिएको कुराकानीको सम्पादित अंश:

प्रचलित बिम्ब बनिसकेको ‘मुनामदनमा’ ‘डिभोर्स पार्टी’ थपेर कथा संग्रह ‘मुनामदनको डिभोर्स पार्टी’ ल्याउन केले झकझकायो?

पुस्तक प्रकाशनपछि मलाई सबैभन्दा धेरै सोधिने प्रश्न यही हो। जुन स्वभाविक पनि हो। किनकि साँच्चै हो, मुनामदन नेपाली समाजमा प्रेमका प्रतीक मात्रै होइनन् बिम्ब बनेका छन्। तिनको पनि डिभोर्स र त्यसको पनि पार्टी ! यो सुन्दा धेरैलाई अनौठोनै लाग्छ। सुरुमा पचाइहाल्न गाह्रो पनि हुनसक्छ तर यो बिम्ब हो र आधुनिक नेपाली समाजलाई व्यङ्ग्य हो।

कथा लेख्न बसेपछि या खोजेपछि सामाजिक विषय खोज्दै जाने, विकृतिलाई उधिन्ने र हरेक मान्छेलाई कुनै न कुनै रूपले छुने विषय छान्ने क्रममा मैले हिजोआज बढ्दै गएको सामाजिक सञ्जालको गलत प्रयोगलाई विषय बनाएर एउटा कथा लेख्ने निधो गरें। सोही क्रममा मान्छेको मनमा छुने र बिर्सनै नसक्ने पात्र अनि घटनाको खोजी गर्ने क्रममा यो विषय छानेको हुँ।

महाकवि देवकोटा जस्ता अत्यन्तै सम्मानित र महान स्रष्टाको कृति अनि त्यसका पात्रलाई फरक तरिकाले प्रस्तुत गरेर कथा लेख्न खोज्दा मलाई सुरुमा डर भने नलागेको होइन। तर मुख्य कुरा त्यसले दिने सन्देश हो। ‘यदि सामाजिक सञ्जाल र प्रविधिको गलत प्रयोग गर्न नछोड्ने हो भने मुनामदन जस्तै गहिरो प्रेम भएका व्यक्ति बीचको सम्बन्धमा पनि प्रश्न उठ्नेछ र त्यसको अन्त्य हुनेछ। जसले यो संसारलाई अगाडि हैन पछाडि धकेल्नेछ’ भन्ने सन्देश यो कथाले दिन खोजेको छ।

अनुशासन र प्रेमविहिन सम्बन्धले संसारलाई विनाशतर्फ लैजान्छ। त्यसैको प्रयोगमार्फत आधुनिक समाजलाई घचघच्याउनु यो कथाको उद्देश्य हो। कथा पुरै पढेपछि थाहा हुन्छ कि त्यसमा मैले न देवकोटालाई अन्याय गरेको छु, न मुना मदनलाई ।

रुकुम हत्या प्रकरणमा मारिएका ६ जना युवाहरूमध्ये ‘नवराज विकको भ्यालेन्टाइन डे’ नामक कथा लेख्न किन आवश्यक ठान्नुभयो ?

यति बर्बर र गहन विषयमा पनि दृष्टि पुगेन भने हामीले लेख्नुको के अर्थ हुन्छ र? हामी लेख्ने या बोल्ने मान्छेहरूले उठाउनुपर्ने मुख्य विषय नै यस्तै हुन्, जहाँ जातीय भेदभावले अझै पनि मान्छेहरू मृत्यु भोग्न समेत बाध्य छन्। अझै पनि हाम्रो समाज ढुंगे युगमा रहेको प्रतीत हुन्छ। जहाँ परिवर्तन जरुरी छ। नवराज विक प्रतिनिधि पात्र र पीडितहरूका बिम्ब हुन्। एक्काइसौँ शताब्दीमा घटेको त्यो घटना सानो कुरा होइन। त्यसले मेरो मनमा गहिरो नकारात्मक छाप पारेको थियो। त्यस विषयमा आफ्नो ठाउँबाट जे सकिन्छ त्यो गरेर परिवर्तनको आन्दोलनमा थोरै भएपनि योगदान गरौं भन्ने सोच मलाई आइरहन्थ्यो। त्यसै क्रममा ‘भ्यालेन्टइन डे’लाई जोडेर कथालाई थप मर्मस्पर्शी बनाउने प्रयास गरें।

युवा पुस्ता प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउँदै रमाइरहेको आजको परिवेशमा अन्तरजातीय प्रेम गरेकै कारण जीवन गुमाउनु परेका र पीडा भोग्नु परेका धेरै नवराज विकहरूको मनमा कति गहिरो पीडा होला र उनीहरूका जन्मदाता त्यो कुरा कसरी सहन सक्लान्’ भन्ने कुरा मैले यसमा चित्रित गर्ने प्रयास गरेको छु।

स्वरै कल्पनामा आधारित हुनाले कथानक केही फरक लाग्न सक्छ। यसमा मैले विश्व प्रसिद्ध १७-१८ जना कविहरूलाई गुरुकुल थिएटरमा उतारेको छु। जहाँ सुनिल पोखरेलको निर्देशनमा एउटा नाटक मञ्चन भएको छ। पात्रहरू नवराज विक सेन्ट भ्यालेन्टाइन उनकी प्रेमिका जुलियालगायत छन्। कथाको मुख्य सन्देश जातीय छुवाछुतविरुद्ध हामीजस्ता व्यक्तिहरूले उठाइनुपर्ने आवाज र चालिनुपर्ने कदम नै हो।

कथा संग्रहको भीडमा तपाईंका कथाहरू विल्कुल भिन्न छन् भन्ने आधारहरू के के हुन् ?

स्वरै कल्पनामा आधारित हुनाले यसका घटना तथा पात्रहरूको संयोजन त्यसै पनि फरक लाग्छ। मैले हाम्रो समाज र सिंगो संसारलाई जोड्ने प्रयास गरेको छु।

इतिहास, वर्तमान र विगतलाई जोड्ने प्रयास गरेको छु। तिनले सन्देश हाम्रै समाजलाई दिन्छन्, केन्द्रमा हाम्रै समाज हुन्छ तर पात्रहरू संसारको विभिन्न अमूर्त समय र ठाउँका रहने गर्छन्। यसले कथालाई आकर्षक त बनाउँछ नै, अनौठो शैलीमा विश्वप्रसिद्ध पात्रहरू हाम्रो समाज र हाम्रा विषयसँग जोडिन्छन्। त्यसैले पनि यी कथाहरू फरक हुन्छन्। जस्तै मैले नेपाल टेलिभिजनको स्टुडियोमा हिट्लरकी प्रेमिका इवा ब्राइनसँग अन्तर्वार्ता गरेको छु। आधुनिक सिङ्गापुरका पिता मानिने लि क्वान यु बालेन सिटी हेर्न काठमाडौं आएका छन्।

जनयुद्धको समयमा विभत्स तरिकाले हत्या गरिएकी मैना सुनार ईश्वरको अदालतमा उपस्थित भएर आफ्ना पीडा पोखिरहेकी छन्। पशुपति आर्यघाटमा रातको १ बजे अब्राहम लिङ्कनकी श्रीमती मेरी टोडसँग भेटेको छु।

प्रसिद्ध चित्रकार भ्यान गगकि प्रेमिका सियन हुर्निकसँग मध्यरातमा नेदरल्यान्ड्समा भेटेको छु। ती पात्रलाई हाम्रो परिवेशसँग जोडेर अनौठो कथा निर्माण गर्ने र थाहै नपाई समाजलाई सन्देश दिने प्रयास गरेको छु। थोरै कथानाकमा र एउटै ठाउँमा सिङ्गै कथा निर्माण गर्दा संसारकै प्रसिद्ध मानिने नाटकहरूको पनि झल्को आउँछ।

कथामा उठाउनैपर्ने आजको सामाजिक विकृति के हो? त्यसबाट आजको लेखक कति नजिक हुनुहुन्छ र तपाईं?

सामाजिक विकृति भन्ने कुरा समाजको चेतना, स्तर आर्थिक स्तर, सांस्कृतिक पहिचान आदिले निर्धारण गर्छन्। हाम्रो समाजमा धेरै अगाडि युगौंदेखि जरा गाडेर बसेका सामाजिक कुरीति र अन्धविश्वास हामीले उठाउनुपर्ने मुख्य विषय हुन् जसमा छुवाछुत, छाउपडी, दाइजो प्रथा, सामाजिक विभेद लगायत पर्छन्। ती सँगसँगै आधुनिक युगले र प्रविधिले निम्त्याएका विभिन्न विकृति विसंगति र राजनीतिक चेतना पनि हामीले उठाउनुपर्ने विषय हुन्। आधारभूत कुराहरूको अभावले हाम्रो समाजका धेरै व्यक्तिहरू आज पनि अकाल मृत्यु भोग्न विवश छन्। ती पनि हामीले उठाउनुपर्ने मुख्य विषय हुन्।

हाम्रो धर्म संस्कृतिमा रहेका रूढीवादी सोच र तिनले हामीलाई पारिरहेका नकारात्मक प्रभाव पनि हामीले उठाउनुपर्ने विषय हुन्। यी कुरालाई मैले गहिरो अध्ययन गरेर उठाउने प्रयास गरेको छु । जस्तै मेरो एउटा कथामा अछाम जिल्लाकी एचआइभी संक्रमित एकजना यस्ती महिलाको कथा छ जसको श्रीमान एड्सकै कारण मरेका छन्। घाटमा लास जलाउने मान्छे नभएर उनले एक्लै पानी परेको रातमा खोलामा श्रीमानको लास जलाएर फर्केकी छन्।

वैदेशिक रोजगारी र सुखशैल खोजेर विकसित देशमा हाम्फाल्ने युवाहरूका पीडाका कुरा पनि मेरा कथामा समेटिएका छन्। जुन आजको डरलाग्दो यथार्थ हो। समग्रमा हामीले उठाउनुपर्ने विषय मनोरञ्जनात्मकभन्दा पनि सामाजिक नै हुन्। तिनलाई प्रस्तुत गर्ने शैली मनोरञ्जनात्मक हुन सक्छ, तर तिनले मनमा छुनुपर्छ र परिवर्तनमा योगदान गर्नुपर्छ भनेर म सचेत छु । त्यसैको प्रयोग यो संग्रहमा गरेको छु। बाँकी पाठकको हातमा।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?