अर्हत् उपन्यास : प्राचीन कथामा समकालीन यथार्थ (पुस्तक समीक्षा)

अर्हत् उपन्यास : प्राचीन कथामा समकालीन यथार्थ (पुस्तक समीक्षा)
+
-

लेखक शैलेन्द्र अधिकारी ‘अर्हत’ उपन्यासबाट बौद्धदर्शनको जगमा बुद्धलाई नै उभ्याएर नयाँ औपन्यासिक यात्रामा निस्केका छन्।

उनले पहिलाे उपन्यास ‘निर्वेद’ मा वैचारिक आधार वेदान्त दर्शनलाई बनाएका थिए। पूर्वीय दर्शनका क्षेत्रमा अत्यन्त व्यापक, प्रभावशाली र लोकप्रिय वेदान्त दर्शनलाई लिइन्छ। त्यही वेदान्तको आलोकमा उनले निर्वेदको धरहरा उठाएका थिए। संन्यास भनेको के हो र कस्ता मानिसले संन्यासलाई कुण्ठाको चिहान बनाउँछन् अनि कस्ता खाले संन्यासलाई मोक्षको सोपान बनाउँछन् भन्ने कुरालाई निर्वेदले प्रकाश पारेको थियो।

आख्यानमा आउनुपूर्व कविता तथा गजल लेख्दे शैलेन्द्रको थप दर्शनमोह प्रकट भएको छ अर्हतमा। त्यसमा पनि पूर्वीय दर्शनलाई महत्त्व दिएर उपन्यास लेख्ने उनको चेष्टाले आफ्नोपनकोे प्राचीनतातिर पाठकलाई डोर्‍याउन प्रेरित पनि गरेको छ।

वेदान्त, सांख्य, बौद्धलगायतका दर्शनहरू नेपाली जनमानसमा भिजेका दर्शन हुन् यिनले कुनै न कुनै रूपमा हामीलाई प्रभाव पारेकै छन्। त्यस्ता दार्शनिक पक्षलाई एकपछि अर्काे उपन्यासमा प्रयोग गर्ने अधिकारीको प्रयत्न आफैँमा प्रशंसनीय छ। त्यसमा उनी कति खरो उत्रिन सकेका छन् वा छैनन् त्यसकोे मूल्याङ्कन समयक्रममा निश्चय पनि हुने नै छ। जङ्क साहित्यको बिगबिगीले पाठकहरू कुपोषणको सिकार भइरहेको वर्तमान समयमा दार्शनिक धरातलमा उपन्यास लेख्ने लेखक भेटिनु पनि अत्यन्त सुखद कुरा हो।

बौद्धदर्शनको वर्तमान स्वरूप बुद्धकै बेलामा सुरु भएको होइन तर बीजरोपण भने भएको हो। बुद्धपछिका कयौँ विद्वान्हरूले यसलाई समृद्ध बनाएका छन्। बौद्धदर्शन वा संस्कृतिमा विकास भएका हीनयानी तथा वज्रयानी विचारहरू, शून्यवाद तथा प्रतीत्यसमुत्पादजस्ता दार्शनिक अवधारणाहरू पनि बुद्धको जीवनकालपछि नै प्रकाशमा आएका हुन्। यी सबैका सूत्रधारहरूले आधारका रूपमा बुद्धका उपदेशलाई नै लिएका छन्। अर्हत्ले पनि बुद्धको जीवनलाई कथा बनाएको छ र उनका उपदेशलाई उपन्यासको वैचारिक आधार।

बुद्धले गृहत्याग गरेको कथाबाट सुरू भएको उपन्यासमा उनको जन्म, शिक्षा, विवाह, तपस्या, ज्ञानप्राप्ति, ज्ञानको उपदेश, यश कुमार, पटाचारा, अङ्गुलीमाल आदिलाई भिक्षुसङ्घमा प्रवेश, कपिलवस्तु आगमन, राहुल, प्रजावतीआदिलाई प्रवज्या, जेतवन, आम्रवनआदिको दानग्रहण, देवदत्त, जैनआदिको विद्रोह तथा षड्यन्त्र, बुद्धको महापरिनिर्वाण लगायतका घटनाहरूमा उपन्यासको कथानक विस्तारित भएको छ।

उपन्यासको प्रारम्भ ‘आदाहनोत्सव’बाट भएको छ। बुद्धले आफ्ना उपदेशमा शान्ति, अहिंसा र संयमलाई बढी जोड दिएका छन् तर उपन्यास भने युद्धमय गज्याङमज्याङबाट सुरू गर्न उपन्यासकार प्रेरित भएका छन्। बरू बुद्धले आफ्नो जीवनकालमा आफूले पाएको ज्ञान बाँड्नका लागि मानिस खोज्नुपर्‍यो। उनका उपदेशलाई वा धर्मदेशनालाई तत्कालीन कतिपय राजनीतिक शक्तिहरूले राजनीतिक स्वार्थका लागि पनि प्रयाग गरे होलान्। उनको मृत्युपश्चात् उनका अस्थीधातुको भाग पाउनका लागि तँछाडमछाड भएको छ। बुद्धकै चेला वा अनुयायीले भरिएका राज्यहरू पनि युद्धमा लपेटिएका थिए उनकै जीवनकालमा भन्ने कुरालाई उपन्यासमा नै देखाइएको छ। यसकारण शान्ति मानवजीवनको चाहना होला तर युद्ध बाध्यता वा आवश्यकता हो भन्नेतिर उपन्यासले हुत्त्याइरहन्छ बेला बेला। कतिपयले त सिद्धार्थ नै सम्भावित युद्धबाट पालायन हुँदै बुद्ध बनेका हुन् पनि भन्ने गरेका छन् तर त्यस्ता कुरालाई यस उपन्यासले मतलब गरेको छैन।

अवश्य पनि प्राचीनकालबाटै बुद्धका विषयमा अनेकौँ ग्रन्थहरू लेखिएका छन्। लुम्बिनीमा जन्मेका बुद्धले संसारको ठुलो हिस्सालाई आफ्नो शान्ति र करुणाको अमृतले भिजाएका छन्। त्यसलाई विषय बनाएर साहित्यिक रूप दिने परम्परा पनि लामो छ। यही महान् परम्परामा उपन्यासकार शैलेन्द्र अधिकरी र उनको अर्हत् उपन्यास पनि थपिएको छ। उपन्यासमा भिक्षु आनन्द सूत्रधारका रूपमा आएका छन् भने उपन्यासको मूलभागमा बुद्धले आफ्नो कथा आफैँले भनेका छन्। बुद्धले गृहत्याग गरेको कथाबाट सुरू भएको उपन्यासमा उनको जन्म, शिक्षा, विवाह, तपस्या, ज्ञानप्राप्ति, ज्ञानको उपदेश, यश कुमार, पटाचारा, अङ्गुलीमाल आदिलाई भिक्षुसङ्घमा प्रवेश, कपिलवस्तु आगमन, राहुल, प्रजावतीआदिलाई प्रवज्या, जेतवन, आम्रवनआदिको दानग्रहण, देवदत्त, जैनआदिको विद्रोह तथा षड्यन्त्र, बुद्धको महापरिनिर्वाण लगायतका घटनाहरूमा उपन्यासको कथानक विस्तारित भएको छ।

उपन्यास लेखनका लागि लेखकले बुद्ध परम्परामा स्थापित भएका मान्यता तथा ग्रन्थहरूलाई नै प्रमाण बनाएका छन्। ऐतिहासिक तथा समाजशास्त्रीय मान्यता अनि आधुनिक अन्वेषकहरूका धारणालाई लेखकले वास्ता गरेका छैनन्। बुद्धका बारेमा परम्परागत हिसाबले जेजस्ता तथ्य, धारणा र किंवदन्तीहरू प्रचलनमा छन् तिनै इट्टाहरू राखेर उनले उपन्यासको महल तयार पारेका छन्। त्यसैले पनि बुद्ध जीवनीका अठ्ठाइस वर्षहरूका विषयमा अर्हत् पनि तीव्र गतिमा दौडिएको छ। बुद्धको शिक्षाका विषयमा उपन्यासकारले परम्पराको अलिकति अतिक्रमण गर्ने साहस गरेका छन्।

सोह्र वर्षमा विवाह भएका बुद्ध अठ्ठाईस वर्षको उमेरसम्म के गरेर बसे? वा उनन्तीस वर्षको उमेरमा गृहत्याग गर्ने अवस्था आउनलाई बिचमा केही उथलपुथल भयो कि भन्ने विषयमा उपन्यासले केही बोलेको छैन। त्यसो भए के उनी आफ्नो वंशवृक्ष विस्तारका लागि राहुलको जन्म कुरेर बसेका थिए? कपिलवस्तुका शाक्यहरु कुल र रक्तशुद्धताका लागि मरिमेट्थे भन्ने विषयलाई उपन्यासले महत्त्व दिएकै छ। बिरामीलाई देखेर, बुढोलाई देखेर सिद्धार्थको मनमा वैराग्य आएकाले उनले घर छोडे भन्ने मान्यतालाई नै अर्हत्ले बोकेको छ। बुद्धाका बारेमा प्रचलित धारणाकै मूलधारामा उपन्यासको कथा बगेको छ।

उपन्यासमा तत्कालीन उत्तर भारतवर्षीय समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक जीवनलाई देखाइएको छ। मानिसका आचार विचार आदर्श मान्यता र धारणाहरूलाई सकेसम्म तथ्यमा उभिएर उल्लेख गरिएको छ। असंख्य पशु र ठूलो धनराशि खर्च हुने यज्ञहरू तथा कठोर नियम र अनुशासनले जेलिएको वैदिकसभ्यताको राप एकातिर थियो भने एकातिर त्यसमा असहमति जनाउने उपनिषद्का वैचारिक आन्दोलनहरू सतहमा आइरहेका थिए। कठोर ब्राह्मण धर्मबाट दिक्क भएकाहरू जातसंस्कार आदिलाई त्यागेर शिखा यज्ञोपवित परित्याग गरी कषायवस्त्र धारण गरेर श्रमणको जीवन बिताउनका लागि परिव्राजक बनेर हिँड्नेहरू पनि थिए। यस किसिमको सामाजिक तथा वैचारिक परिस्थितिमा बुद्धको उदय भएको देखिन्छ। उपन्यासले बुद्ध परिव्राजक भएर हिँड्नुमा तत्कालीन सामाजमा विकास भइरहेका विचारलाई कारण प्रत्यक्ष रूपमा घोषणा नगरे तापनि घटनाहरूले त्यता पनि सङ्केत गरेका छन्।

शक्तिशाली धर्मगुरुको धोतीको फेर समातेर हिँड्ने नेता, व्यापारीहरू अहिलेको परिवेशमा पनि उत्तिकै छन् जुन हामीले देखिरहेका छौँ जुन कुरा अर्हत् उपन्यासमा पनि प्रतिविम्बित भएको छ।

जतिसुकै प्राचीन विषयमा लेखिए तापनि त्यसले समकालीन यथार्थलाई अभिव्यञ्जित गरेको हुन्छ । त्यसो नगरेमा त्यस्तो कृति पुनरूक्ति वा पुनर्लेखनभन्दा बढी केही पनि हुँदैन। अर्हत् उपन्यासले साँढे दुईसहस्राब्दी पहिलेको कथा भनेको छ तर त्यसमा पनि वर्तमान प्रतिविम्बित भएको कुरालाई ध्यान दिनु जरुरी हुन्छ। बुद्ध कपिलवस्तु जस्तो सानो राज्यका राजकुमार थिए। जब उनी ज्ञान प्राप्त गरेर बाहिरी दुनियामा निस्के तब उनी शक्तिशाली धार्मिक सत्ताको नियन्त्रक बने। धार्मिक सत्ता राज्यका सीमालाई नाघेर बहुराष्ट्रमा फैलिएको हुन्छ त्यसको अनुभूति हामी अहिले पनि गर्न सक्छौँ। शक्तिशाली राजाहरू पनि उनको धर्मराज्यको छहारीमा ओत लाग्न आउन थाले। बुद्धलाई दान दिएर आफ्नो सम्पत्ति सुध्याउने आम्रपालीहरू देखा परे। बुद्धको शरणमा आएर आफ्नो चरित्र पखाल्ने अङ्गुलीमालहरू देखा परे। बुुद्धको छायामा लैङ्गिक हिंसाबाट पीडित पटाचारीहरूले आफूलाई सुरक्षित पाए । शक्तिशाली धर्मगुरुको धोतीको फेर समातेर हिँड्ने नेता, व्यापारीहरू अहिलेको परिवेशमा पनि उत्तिकै छन् जुन हामीले देखिरहेका छौँ जुन कुरा अर्हत् उपन्यासमा पनि प्रतिविम्बित भएको छ।

निश्चय पनि बुद्धको जीवनचरित नेपाली समाजका लागि नयाँ कु नहोला तर त्यही जीवनचरितलाई अर्हत्ले सुकोमल शैलीमा भनेको छ। मोहनी लगाउने भाषा छ। पाठकलाई तानिरहने कथावाचन छ। शौनकादि अठासी हजार ऋषिहरूलाई सूतजी महाराजले भागवत कथा सुनाएजसरी हजारौँ भिक्षुहरूलाई भिक्षु आनन्दले बुद्धजीवनीका गाथा सुनाउँछन्। महासागरबाट मोती निकाले जसरी कथाकारले कथाका बिउ चुनेका छन् नत्र बुद्धका सबै कुरा लगभग दुई सय पचास पृष्ठमा किन अटाउँथ्यो र? आवश्यक कथालाई आवश्यक आकारमा मात्र विस्तार गरेर पस्कने उपन्यासकारो गुणको प्रशंसा गर्नैपर्छ । किताब आवरणमा सुवर्ण हुमागाईँको कला र मिहेनत चम्चमाइरहेको देख्न सकिन्छ।

उपन्यासलाई शिखा बुक्स्ले बजारमा ल्याएको होे। बुद्धचरितको आख्यानीकरण अत्यन्त सुन्दर ढङ्गमा भएको छ। ब्रहामास्त्र कथा संग्रह यसअघि बजारमा ल्याइसकेका लेखकको भाषिक कौशलले उपन्यास अर्हतलाई कलात्मक बनाएको छ। बुद्धको जन्म तथा बाललीलालाई कुनै देवत्वकरढण गरिएको छैन। बुद्धका क्रियाकलापमा पनि देवत्व तथा रहस्यवादिताको प्रयोग गरिएको छैन। यसबाट उपन्यासकार बुद्ध सामान्य मानवका रूपमा जन्मेर कर्मले देवता बनेका हुन् भन्ने निजात्मक दृष्टिभूमिमा उभिएका छन् भन्ने थाहा हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?