पूर्वमुख्य सचिव विमल कोइरालाले यसपटक देशसञ्चार चौतारीमा सहकर्मीहरूको जिज्ञासाको जवाफ दिएका छन्।
बीएस्सी गरेर आफू निजामती सेवामा आउनुमा दुर्घटना वा संयोगका रूपमा चित्रण गर्छन् कोइराला। आफूलाई डाक्टर बन्न मन भए पनि साथीहरूको लहैलहैमा लोकसेवाको जाँच दिएको र एकैपटकमा अधिकृत बनेको उनी बताउँछन्।
आफूलाई धेरै समयसम्म पनि निजामती सेवामा स्वाद नलागेको बताउँछन् कोइराला। बिस्तारैबिस्तारै भने निजामती सेवामा बानी परेको वा रस पस्दै गएको उनले अन्तर्वार्ताका क्रममा बताए।
आफूले देख्दादेख्दै निजामती सेवामा गुणात्मक ह्रास आएकामा चिन्तित तुल्याउने उनले बताए। ‘निजामती सेवा झन् उम्दा हुँदै जानुपर्नेमा अल्छी र पैसा खाने भनेर आरोप लाग्दा मलाई दुख लाग्छ, जनताको आरोप असत्य पनि होइन,’ उनले भने।
राजनीति सुध्रिए निजामती सेवा पनि सुध्रिने तर राजनीति नसुध्रिँदा निजामती सेवा पनि सुध्रिन नसकेको उनले बताए। गुणात्मक ह्रास हुँदै गएको भन्न आफू पनि बाध्य भएको उनी बताउँछन्।
पञ्चायतकालदेखिको आफ्नो अनुभवका आधारमा त्यत्तिखेर अनुशासन र चेन अफ कमाण्ड रहेको उनी बताउँछन्। ‘निजामती सेवाको प्रतिष्ठा त्यो समयमा तर पछि आएर निजामती सेवामा राजनीतिकरण हुन थाल्यो,’ उनले भने। अहिले आएर निजामती कर्मचारी राजनीतिज्ञहरूले प्रयोग गरेर फ्याल्दिने कुच्चिएको लोटाजस्तो भएको टिप्पणी पनि कोइरालाले अन्तर्वार्ताका क्रममा गरे।
निजामती सेवालाई प्रयोग मात्र गरिएको पनि उनको टिप्पणी गरे। ‘बिस्तारै बिस्तारै निजामती सेवाले पनि हक खोज्न थाल्यो र बिथोलियो,’ उनले भने।
उनले निजामती विधेयक केका लागि ल्याइएको हो भन्ने सांसद्हरूलाई नै थाहा नभएको बताए। ‘अहिलेको निजामती सेवा विधेयक ऐनका रूपमा आउनु नआउनुको कुनै अर्थ छैन,’ उनले भने।
उनले केन्द्रले हस्तक्षेप गरिरहने हो भने संघीयताको कुनै अर्थ नरहेको पनि बताए।
निजामती सेवाबाट रिटायर्ड हुँदा आफू ५० वर्षको मात्र भएको र त्यसपछि पनि आफू फुर्सदमा भने नरहेको उनले बताए। ‘म तनावमुक्त छु तर व्यस्त छु,’ उनले भने।
गाँस बनाउने मामलामा सबै दलको मतो मिल्ने उनले भने। कुनै दलप्रति आफ्नो आकर्षण नरहेको पनि उनले स्पष्ट पारे।
उनले अमेरिकी राष्ट्रपति ट्रम्पले युएसएआइडीको पैसा रोक्दैमा नेपालको विकास नरोकिने बताए। ‘आफ्नै पुँजीगत खर्च त खर्च नसकेको अवस्था छ, युएसएआइडीकै कारण धेरै फरक पर्दैन,’ उनले भने।
दातृ निकायबाट आएको रकमको ठूलो हिस्सा उतै फर्कने र जनतासम्म पुग्ने केही प्रतिशतमात्र हुने पनि उनले बताए। ‘तर हामीले निष्ठा र इमानका साथ मुलुकलाई हेर्दै हेरेनौँ,’ उनले भने।
जनताले लोकतन्त्रमा नाममा एउटा मतपत्र मात्र पाएको पनि उनले बताए।
राजनीतिज्ञहरु गोरो छाला देखेपछि थरथर हुने पनि उनले बताए। ‘उसले भनेको जे पनि हुने हुन थाल्यो,’ उनले भने।
वैदेशिक सहायता सबै ‘डोनर ड्रिभन’ रहेको पनि उनले बताए। देशको साँचो दातासँग रहेको पनि उनले बताए। ‘दाताहरूले त खुट्टा दुखेको बेला पेटमा इन्जेक्सन हाल्दिन्छन्, हामी मख्ख पर्छौँ,’ उनले भने।
पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेको कुरा उनी आफैँलाई पनि थाहा नभएको उनले बताए। ‘त्यो घटना मलाई त एकरति थाहा थिएन तर मलाई लाग्छ महाराजाधिराज स्वयंलाई पनि केही थाहा थिएन,’ उनले भने।
उनले आफ्नो निजामती क्षेत्रको अनुभव किताबको रूपमा आउने पनि उनले बताए। ‘यो तयारी म गरिरहेको छु,’ उनले भने।
पूरा अन्तर्वार्ता: