
काठमाडौं- पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेश गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन् ।
उनले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेश गर्ने बताए ।
उनले ऊर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले अहिलेका शासकहरुले पानीको महत्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरु सुक्दै गएको बताए ।
मानव निर्मित तालहरुको पानी सुख्खायाममा जहाँपनि प्रयोग गर्दा सजिलो हुने भएपनि त्यसतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ छ ।
‘जलस्रोत विधेयक र ऊर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ । पहिला ऊर्जा विधेयक आयो त्यसपछि जलस्रोत विधेयक आयो । जलस्रोत विधेयकमा हामी दुईचार वटा कुराहरुमा हामी अड्किएका छौं । तर केही समयमा हामी आपसमा छलफल गरेर सबैको सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो अगाडि बढाउन गइराखेका छौं । सदनमो पेस गर्न गइरहेका छौं ।’
सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरु समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताए ।