
मुगु – मुगु जिल्लाका विभिन्न स्थानमा उचित चरिचरन अभावका कारण पशुपालन गर्न कठिन हुँदै गएको छ। विशेष गरी छायानाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका किसान पशुचौपायालाई चराउन समस्या झेलिरहेका छन्।
चैतमा समस्या झन् गहिरिने गर्छ। सुख्खा जमिनका कारण घाँसको अभावले पशुहरूलाई घरमै राखेर पाल्नुपरेको छ। स्थानीय किसानका अनुसार, वर्षाऋतुमा मात्रै केही सहजता आउने भए पनि त्यसपछि पुनः समस्या दोहोरिने छायाँनाथरारा नगरपालिका वडा नं ५ का कृषक कुमबहादुर कार्कीले बताए।
घाँस नभएर आफ्ना पशुचौपाए अन्यत्र पाल्न पठाएको र वर्षा लागेपछि बनपाखामा घाँस पलाएपछि मात्र चौपाय घरमा ल्याउने गरेकाे उनले बताए।
घरमा घाँसपात र चराउने पर्याप्त बनपाखा नहुँदा मुगुका अधिकांश कृषकले गाई, गोरू ,भैंसीलगायत बस्तु पाल्ने संख्या घटाउँदै आएका छन् । जसले गर्दा गमगढी बजारमा न डेरी छ न त प्रशस्त दूध नै पाइन्छ।
चरिचरन क्षेत्र अभावकै कारण किसान खेत जोत्ने एक हल गोरूबाहेक धेरैजसो कृषक पशुपालन घटाउन बाध्य छन्। उचित योजना तथा सरकारी पहल नभए, भविष्यमा पशुपालन व्यवसाय नै संकटमा पर्न सक्ने स्थानीयको गुनासो छ।