
लेखक तथा नियात्राकार जीवा लामिछानेकाे नयाँ पुस्तक ‘अक्षत अन्टार्कटिका’ माथि परिचर्चा भएकाे छ।
लेखक लामिछानेकाे गृहजिल्ला चितवनमा पुस्तकका बारेमा चर्चा गर्न नारायणगढको पुस्तक पसल ‘सम्पूर्ण किताब’ले ‘अन्टार्कटिका संवाद’ राखेकाे हाे।
अन्टार्कटिकामा १३ दिन गरेको यात्रा विवरण लामिछानेको पुस्तकमा छ। अन्टार्कटिकाभन्दा धेरैले सम्झने भनेको हिउँपछि पेन्गुइन चरा, सिल र हृवेल हो। यस्तो ठाउँमा पर्यटक भनेर उनले पुस्तकमा अन्टार्कटिकाको भूगोल, वातावरण र यात्रा इतिहासको कथा समेटेका छन्।
‘अन्टार्कटिकाका बारेमा अंग्रेजी र हिन्दीमा धेरै नै लेखिएको पाएँ। नेपालीमा निकै कम रहेछ। एक त म डुलिरहने बानी भएको मान्छे एकपटक पुगौं भन्ने भयो। त्यहाँ पुगेपछि किताब लेख्ने सल्लाह नै भएको थियो। यसरी यो तेस्रो किताब जन्मिएको हो,’ लामिछानेले सुनाए।
अन्टार्कटिका पुग्ने यात्रा नै रोमाञ्चक रहने उनले बताए। ‘खतरनाक त नभनौं, पहिला आटार्कटिकाको खोजीका बेलामा समुद्रको पानीजहाज यात्रा खतरनाक नै रहेछ। अहिले त ती खतरा पार गर्ने जाहाज छन्। समुद्रमा पानीको छाल ५० मिटरसम्म उठ्दो रहेछ। पानीजहाज नै उचालिने, थेचारिने यात्रा फरक त हुने नै भयो,’ उनले भने।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी लामिछानेको नियात्रासम्बन्धी किताब ‘सर्सर्ती संसार’ र ‘देश देशावर’ प्रकाशित भएका छन्।