
हुम्ला – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा शतप्रतिशत लक्षित वर्गका किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी) लगाएका छन्। फागुन २१ देखि २९ गतेसम्म खोप लगाउने कार्यतालिका रहे अनुसार निर्धारित मितिभन्दा अगाडि नै खोप लगाइएकाे हो।
ताजाकोट गाउँपालिकाका १२ वटा खोप केन्द्रका संचालन गरिएको एचपिभी खोप अभियानमा शतप्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले जानकारी दिए।
विद्यालयभित्र अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरी ३६० जना र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका १८ जना गरी जम्मा ३ सय ७८ जना किशोरीलाई खोप लगाइएको होे।
उक्त गाउँपालिकामा ३७८ जना लक्षित वर्गका किशोरी रहेको अनुमान गरिएको थियो। यसबाट ताँजाकोटमा सो खोप लगाउने कार्य शतप्रतिशत पूरा भएको छ। आठ वटा विद्यालय र चार वटा स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिए पनि छुटपुटका लागि गाउँपालिका केन्द्रका मैला स्वास्थ्य चौकीमा खोप लगाउने ब्यवस्था गरिको थियो।
उक्त गाउँपालिकामा बाह्र जना स्वास्थ्यकर्मी र २४ जना स्वयंसेविका परिचालन भएका थिए। उक्त खोप अभियान सम्पन्न गर्ने जिल्लाका सातमध्ये ताँजाकोट पहिलो गाउँपालिका भएको छ।