
सिमकोट – गाउँ पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको भएपनि पाठ्यपुस्तक छपाउन सकेका छैनन। गाउँपालिकाहरुले पाठ्यपुस्तक छाप्ने ब्यवस्था नगरेको कारण निर्माण भएको पाठ्यक्रमका आधारमा विद्यालयमापठनपाठन सुचारु गर्न शिक्षक र विद्यार्थी बाध्य हुँदै आएका छन्।
सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माविले गाउँपालिकाले स्थानीय पाठ्यक्रम ल्याउनु सकरात्मक पक्ष भएको भएपनि हालसम्म पाठ्यपुस्तकको ब्यवस्था गर्न नसकेको कारण विद्यालयमा पाठ्यक्रमका आधारमा पढाई सुचारु भई रहेको जनाएको छ।
सिमकोट गाउँपालिकाले “ हाम्रो सिमकोट” नामक स्थानीय पाठ्यक्रम दुई वर्ष अगाडी तयार पारेको थियो। पाठ्यक्रम तयार भएको दुई वर्ष पुगेको भएपनि हालसम्म पाठ्यपुस्तकको ब्यवस्था हुन सकेको छैन।
कक्षा शिक्षकले पाठ्यक्रम हेर्ने र त्यसै अनुसार कक्षामा अध्ययन गराउने कार्य भई रहेको छ। यसले गर्दा कक्षामा शिक्षकबाट पढाएको कुरा सुनेकै आधारमा विद्यार्थी जानकारी लिनु पर्ने र परिक्षामा लेख्नु पर्ने बाध्यता छ।
शिक्षकलाई पाठ्यक्रम आवश्यक रहेको भएपनि विद्यार्थीहरुका लागि भने पाठ्य पुस्तक नै आवश्यक पर्ने भएको कारण पाठ्यपुस्तकको छपाइको ब्यवस्था आवश्यकता रहेको देखिन्छ।
निक्कै परिश्रम गरेर स्थानीय पाठ् दुई वर्ष अगाडी तयार गरेर गतवर्षबाट विद्यालयमा पठनपाठन सुचारु गरिएको तर गाउँपालिकाले पाठ्यपुस्तक छपाउने ब्यवस्था गर्न नसकेपछि पाठ्यक्रमका आधार पढ्नु पर्ने बाध्यता रहेको युवा खेलकुद तथा शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले बताए।
शाखाले तयार पारेर कार्यान्वयन ल्याएको स्थानीय पाठ्यक्रम गाउँपालिकाका २१ वटा विद्यालयमा हाल कक्षा आठसम्म पठनपाठन हुने गरेको छ। पाठ्यक्रमका आधारमा कक्षामा शिक्षकले पढाएको विषय विद्यार्थीले परीक्षामा लेख्दा भने राम्रै लेखेको पाईएको यसवर्षको बार्षिक परिक्षाको परिणाम हेर्दा देखिएको होे।
स्थानीय पाठ्य पुस्तकको छपाइ कार्य पहिलो वर्षबाटै गर्न गाउँपालिकामा माग राखिएको भएपनि त्यो हुन नसकेको हो। यो वर्षपनि केही दिन अगाडी सोही माग राख्दा आगामी आर्थिक वर्षबाट ब्यवस्था गरिने आस्वासन पाईएको छ। स्थानीय पाठ्यक्रमको पठनपाठन लागु गरिएका सबै कक्षाका लागि पाठ्यपुस्तक छपाइ गर्न बीस लाख बजेट आवश्यक पर्नेछ।
सिमकोट गाउँपालिकामा कक्षा एकदेखि तीनसम्म निरन्तर शिक्षा अन्र्तगत एक सय पुर्णाङ्कको परिक्षा लिईने गरिएको छ भने कक्षा चारदेखि आठसम्म पचास पुर्णाङ्क आन्तरिक र पचास पुर्णाङ्क बाह्य परिक्षा लिने गरिएको शाखाले जनाएको छ। जिल्लाको ताँजाकोट गाउँपालिका गाउँपालिकाहरुले पनि स्थानीय पाठ्यक्रम तयार गरेका छन्।
ताँजाकोटले दुई वर्षयता कार्यान्वयन पनि गर्दे आएको छ। स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक छपाइ गर्न नसकिएको उक्त गाउँपालिकाका युवा खेलकुद तथा शिक्षा शाखाले जनाएको छ। सन्दर्भ सामाग्री जम्मा गर्ने कार्य भई रहेकोले अझै पाठ्यपुस्तकको ब्यवस्था गर्न नसकिएको हो।
पाठ्क्रम विषयबस्तुमा सिमित हुने तर पाठ्यपुस्तकमा विषयबस्तु ब्यापक हुने भएको कारण पनि अति आवश्यक रहेको हो। उक्त गाउँपालिकाले पनि कक्षा आठसम्म स्थानीय पाठ्क्रम लागु गरेको छ। जिल्लाका अन्य चार वटा गाउँपालिका खार्पुनाथ, सर्केगार्ड, चङ्खेली र अदानचुलीले स्थानीय कार्यक्रम तयार गर्ने कार्यतर्फ हालसम्म लाग्नु भएको छैन।