
हुम्ला – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा एकीकृत शिबिर सञ्चालन हुँदा स्थानीयलाई सहज भएको छ। चार वटा सरकारी कार्यालयद्धारा सञ्चालित दुई दिने एकिकृत सार्वजनिक शिबिरबाट गाउँघर मै यति धेरै सेवाग्राहीले सेवा प्राप्त गरेका हुन्।
सदरमुकाममा रहेका कार्यालयबाट मात्रै सेवा दिँदै आएका सेवाप्रदायक निकायलाई गाउँपालिकास्तरमा पुगेर सेवा दिने कार्य भएको छ। एकीकृत शिबिरबाट एक हजार ८३७ जना सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा सेवा प्राप्त गरेका छन्।
शिबिर मार्फत जिल्लाका अदानचुली गाउँपालिकाका मात्रै नभइ अन्य सेवाग्राहीले समेत सेवा लिन पाएका छन्। यतिबेला पालिकामा शिबिर आएकाले उपचार गराउने संख्या पुरुष भन्दा महिलाको धेरै देखिएको छ। गाउँघरमै सेवा आउँदा स्थानीयलाई सहज भएको हो।
शिबिरमा स्वास्थ्य सेवा कार्यालयले स्त्री रोग सम्बन्धी चेकजाच, दन्त सम्बन्धी चेकजाँच र जनरल चेकजाँच, पुरुष स्थायी बन्ध्याकरण, महिलाका लागी तल्लो पेट दुख्ने, माथिल्लो पेट दुख्ने, पाठेघर सम्बन्धी चेकजाच गरेको हो। चार जना महिलामा बाँझो पनको समस्या देखिएको थियोे।
शिबिर अन्र्तगतको एलोपेथिक तर्फ ३७९ जनाले सेवा पाएका छन्। पाठेघरको मुखको क्यान्सरको २१० जना महिलाले जाँच गराएको १२ जनामा पोजेटिभ देखिएको थियो। यस्तै दाँतको उपचार सेवा ८० जनाले पाउनु भएको थियो। शिबिरमा ३९ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका थिए।
आयुर्वेद स्वास्थ्य केन्द्रले ग्यास्टीक, ढाड कम्बर दुख्ने, पेट दुख्ने, पेट फुल्ने, बाथ रोगको तेल बितरण लगायतका औषधि निःशुल्क रुपमा बितरण गरेको थियो। पालिकामा बिशेषज्ञ डाक्टरबाट चेकजाँच गराउन नपाएका सेवाग्राहीले शिबिरमा धेरै आएका थिए।
शिबिरमा रहेको पशु अस्पाताल तथा पशु सेवा कार्यालयले सेवा दिने पशु बस्तुका लागि बिभिन्न रोगको औषधी बितरण गरिएको थियो। २८० जना कृषकले बिभिन्न सात प्रकारका रोगहरुका लागि १३ हजार मात्रा औषधी बितरण गरिएको थियो।
शिबिरकका लागि अर्को सेवा प्रदायक निकाय उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालयले ब्यक्तिगत तथा साझेदारी फर्म दर्ता, नबिकरण, ब्याबसाय दर्ता नबिकरण, खारेज लगायत काम भएका थिए। दर्ता तथा नबिकरण गर्ने कार्य पालिकबाट नहुने भएको कारण सो सेवा शिबिरमा पाउँदा सेवाग्राही खुसी भएका थिए।
सदरकामु सिमकोट पुगेर दर्ता तथा नबिकरण गर्दा २० देखी ३० हजारसम्म खर्च हुने गरेको भए पनि पालिकामा शिबिर आउँदा सेवाग्राहीको खर्च मात्र नबचेर समय समेत बचत छ।
दर्ता नबिकरण सेवा मार्फत ८३ जनाले सेवा लिएका थिए। शिबिरबाट चार वटा सरकारी कार्यालयहरुल २२ प्रकारका सेवा प्रदान गरिएको थियोे। यो सेवा जिल्ला प्रशासन कार्यालयका समन्वयमा आयुर्बेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्धारा प्रदान गरिएको हो। सङ्घीयताको कार्यान्वयपछि सदरमुकाम बाहिर पहिलो पटक एकिकृत शिबिर सञ्चालन भएको हो।