
काठमाडौं– दश वर्ष जनयुद्ध चल्यो। त्यतिबेला राजनीतिक विषयमा नै देश केन्द्रित भयो। तर आज त्यो स्थिति रहेन। राजनीतिक स्थायीत्वतिर हामी अगाडि बढेका छौं। बहुमत प्राप्त सरकार छ। स्थानीय तहसम्म संयन्त्र बनेको छ।
अब हाम्रो एजेन्डा भनेको आर्थिक विकास नै हो। आर्थिक विकास नभए जति हामीले राजनीतिक प्रतिवद्धता गरेका छौं, त्यो पूरा गर्न सकिँदैन। दिगो र स्थायी हुन गाह्रो हुन्छ। हामीले छोटो समयमा आर्थिक विकासका लागि धेरै काम गर्नुपर्छ।
जनताको अपेक्षा पनि एकदमै धेरै छ। चाँडो खोजिरहेका छन्। नीति नियमले नै हो यसलाई ट्र्याकमा ल्याउने। जुन हाम्रो सातवटा प्रदेश र केन्द्रीय सरकारले पर्यटनलाई प्राथमिकतामा राखेका छन्। बजेट हेर्दा सबै प्रदेशका नीति नियममा पर्यटन प्राथमिकतामा छ।
त्यसका लागि पूर्वाधार र वातावरण बनाउनु पर्ने हुन्छ। अहिले नीति नियम बनिरहेको छ। वातावरण पनि बन्दै छ। पछिल्लो समय होटल क्षेत्रमा लगानीको आकर्षण बढिरहेको छ।
स्वदेशी मात्रै होइन, विदेशीहरुले पनि नेपालमा होटलहरुमा लगानी गरिरहेका छन्। जस्तो शेराटन, हिल्टनलगायत धेरै ठुलठूला होटलहरु आइरहेका छन्। उनीहरुले नेपालमा सम्भावना देखेर लगानी गरिरहेका हुन्।
नेपालको भौगोलिक अवस्था जुन छ चीन र भारतकोबीचमा यस कारण पनि उनीहरुले राम्रो सम्भावना देखेका छन्। यसले के देखाउँछ भने स्वदेशी तथा विदेशी पर्यटनका लागि यहाँ राम्रो सम्भावना छ।
आजको दिनमा नेपालभरिका होटल, गेष्टहाउस, रिसोर्ट, होमस्टेहरु पनि बढिरहेका छन्। अहिले हामी २५ लाख ग्राहकलाई होटलका सेवाहरु दिन तयार भएका छौं। खाने सुत्ने आराम गर्ने सबै सेवाहरु दिन सक्छौं।
सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटन ल्याउने लक्ष्य लिएको छ। तर हामी होटलहरु त्यसका लागि आजै तयार छौं।
अब ५ लाख अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका कोठाहरु थपिँदै छन् हाम्रा होटलहरुमा। होटलका तर्फबाट हामी दुई वर्षपछिका लागि आजै तयार छौं । नेपालमा २०५१ मा सुरु भएको हो पर्यटन उद्योग।
गत वर्ष सबैभन्दा बढि पर्यटक भित्रिएका छन्। १० लाखको हाराहारीमा पर्यटक भित्रिए गत वर्ष मात्रै। बढ्नेक्रम अझै जारी छ। यो महिना पनि नेपाल आउने पर्यटकको संख्या बढ्यो।
यो एकदमै सकरात्मक हो। २० लाख पर्यटक ल्याउन गाह्रो पनि छैन। पूर्वाधार हाम्रो सबैभन्दा ठूलो समस्या हो। हामीले भारत र चीनबाट आउने हवाइजहाज बाहेक सडकबाट पनि ल्याउन सक्छौं। अब हाम्रो सडक सञ्जालको स्तरोन्नति हुनुपर्यो। एयरपोर्टहरुको सुधारको काम भइरहेको छ, त्यो चाँडै सम्पन्न हुनुपर्यो। ४/५ वर्षकोबीचमा पर्यटनमा नेपालले छलाङ मार्ने अवस्था देखिन्छ।
कर्मचारीतन्त्र पुरानै शैलीमा हुँदा समस्या
समस्या त जेमा पनि हुन्छ। तर त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने हो। न्यूनतम समयमा, न्यूनतम खर्चमा कसरी छिटो काम गर्ने? कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न हुन सक्छ।
नीति नियम नेपालमा नभएको होइन। अहिलेको भएको नीति नियम अनुसार पनि हामी जत्ति काम गर्न सक्छौं। नभएको भनेको कार्यन्वयन पक्ष मात्रै हो। त्यो एकदमै फितलो छ।
२० लाख पर्यटक ल्याउन गाह्रो पनि छैन। पूर्वाधार हाम्रो सबैभन्दा ठूलो समस्या हो। हामीले भारत र चीनबाट आउने हवाइजहाज बाहेक सडकबाट पनि ल्याउन सक्छौं। अब हाम्रो सडक सञ्जालको स्तरोन्नति हुनुपर्यो। एयरपोर्टहरुको सुधारको काम भइरहेको छ, त्यो चाँडै सम्पन्न हुनुपर्यो। ४/५ वर्षकोबीचमा पर्यटनमा नेपालले छलाङ मार्ने अवस्था देखिन्छ।
राजनीतिक रुपमा हामी एकदमै अगाडि आइसकेका छौं। धेरै परिवर्तन भएको छ। तर हाम्रो कर्मचारी प्रशासन पुरानै पाराको भयो। लोकतान्त्रिक मुलुकमा राजतन्त्र पाराकै कर्मचारी छन्। कर्मचारीतन्त्र परिवर्तन भएन, त्यसैले सुधार हुन सकेन काम गर्ने शैली।
नेताहरुले सेवा ‘डेलिभरी’ गर्ने होइन, उनीहरुले त नीति बनाउने मात्रै हो। डेलिभरी गर्ने कर्मचारीलाई पहिले सक्षम बनाउनु पर्छ। नेताहरुले आफ्ना भाइ–भतिजा र आफ्ना पार्टीका मान्छे मात्रै हेर्नु भएन।
पैसा नभएर होइन, व्यवस्थापन गर्न जानेनौं
काठमाडौंमा बिम्स्टेकको सम्मेलन भयो। त्यसमा सबै कुरा राम्रो भयो, नेपालको इज्जत रह्यो। तर एउटा कार्यक्रम थियो ‘रिट्रिट’मा गोकर्ण लाने । गोकर्ण लाने कुरामा हाम्रा मन्त्रीज्युहरु नै लाग्नुभयो।
त्यहाँसम्म जाने बाटोको अवस्था खराब थियो। मन्त्रीज्यू नै लाग्दा पनि बाटो तयार हुन सकेन। धान रोपिरहेका थिए स्थानीयले वौद्धमा। हामीले त्यो कार्यक्रम रद्द गरेर सोल्टीमै गर्नु परेको थियो।
यसबाट हामीले के सिक्नु पर्यो भने त्यहाँ ठेकेदार थिए, परियोजना प्रमुख थिए, इन्जिनियरलगायत कर्मचारी पनि थिए। उहाँहरुले तोकिएको समयमा काम गर्नु भएन। हाम्रो सरकारले कारबाही गर्यो त? किन गर्न सकिएन कारबाही? देश विकासको कुरा छ, भाइ–भतिजा र कार्यकर्ता भएकै कारण कारबाही गर्न छाडियो भने हामीले लक्ष्य हासिल गर्न सक्दैनौं।
राम्रो काम गर्नेलाई पुरस्कार र खराव गर्नेलाई दण्ड पनि गर्न सक्नुपर्यो। हाम्रो सबैभन्दा ठूलो चुनौती यही हो। हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौं।
सानो र सुन्दर देश। पर्याप्त जनशक्ति पनि छ। तर व्यवस्थापन गर्न सकेनौं। पैसा नभएर होइन व्यवस्थापन गर्न नजानेर समस्या भैरहेको छ।
काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम जुलाई २०१८ मा सम्पन्न हुनु पर्ने हो। दुई महिना पहिले नै सम्पन्न भएर अहिले सञ्चालनमा आउनु पर्ने हो। पैसा नभएर पनि होइन, पैसा पर्याप्त छ। तर हाम्रो कर्मचारी तन्त्रले त्यो डेलिभरी गर्न सकेन। यस्तो कुराहरुचाहिँ हाम्रो नेतृत्व वर्गले पनि एकदम गम्भीर भएर हेर्नु पर्ने अवस्था आइसकेको छ।
होटल उद्योग भनेको हाम्रो एक देशको मात्रै हुँदैन। नेपाली होटलहरु पनि ग्लोवल उद्योग हुन्। नेपाल आउने पर्यटकहरु युरोप, अमेरिका, अष्ट्रेलियालगायत धेरै देशबाट आउँछन्।
ती खल्तीमा पैसा भएका पर्यटकहरुलाई जहाँ गए पनि भयो, सबैले खोज्छन् त्यस्ता पर्यटकलाई। नेपालको पनि कुरा त्यही हो। होटलको स्ट्यान्डर राम्रो भएन भने पर्यटक आउँदैनन्।
नेपाल आउने पर्यटकको करिव ६० प्रतिशत समय होटलमै बित्छ। खान, सुत्न, आराम गर्न र मनोरन्जन गर्नु पर्यो। त्यो कुराहरु हामीले दिन सकेनौं।
नेपालमा पर्यटकहरु बारम्बार आइरहेका छन्। नेपालमा किन आउँछन्? होटल उद्योगमा आज संसारको जुन मापदण्ड छ, त्यो हामीले पनि पुरा गरेका छौं।
बीसको उन्नाइस भयो होला, तर हामी धेरै तल छैनौं। हाम्रो सेवा मन परेकै कारण पनि बारम्बार पर्यटक आइरहेका छन्, संख्या बढिरहेको छ।
नेपालमा रेमिट्यान्सपछि सबैभन्दा बढी आर्थिक योगदान गर्ने हामी नै हौं। व्यवसायिक हिसावमा पनि हामी अगाडि छौं। हामीकहाँ रोजगारी गर्नेको संख्या पनि ठूलो छ। हामी गर्वका साथ भन्न सक्छौं, होटल लाइनमा अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन।
नेपाली होटल उद्योग आज ७० वर्ष पुरानो भैसक्यो। काठमाडौंमा दुई हजारजति होटलहरु छन्। यो क्षेत्र व्यवसायिक हो। व्यवसाय भनेको ग्राहकमा निर्भर रहन्छ। ग्राहकले खोजेको दिन सकिएन भने व्यवसाय चल्दैन। बन्द गरे हुन्छ।
तर हामी ७० वर्षदेखि चलिरहेका छौं भने त हामीले ग्राहकले खोजेको कुरा दिएकै कारण हो नि। क्वालिटी बढाउने, सेवा विस्तार गर्ने भन्ने कुरा भैरहन्छ।
हामीलाई अहिले खड्केको कुरा भनेको ठूलो संख्यामा सेमिनार गर्ने प्याकेजसहित आउने पर्यटकहरुको लागि हामीसँग हलको अभाव छ।
ठूला कम्पनीहरुले दुई हजार मान्छे ल्याएर यहाँ प्याकेजमा कार्यक्रम गर्न चाहन्छन्। त्यो हामीले गर्न सक्दैनौं। हामीसँग भेन्यु नै छैन। हामीसँग एउटै भेन्यु थियो बीआईसीसी भवन। त्यो पनि संसद भवनको रुपमा प्रयोग हुँदा हामीसँग विकल्प छैन।
हामीसँग ५ सय, एक हजारसम्म अटाउने क्षमताका हल छन्। त्यो भन्दा ठूलो पूर्वाधार हामीसँग छैन। त्यस्ता हल हुने हो भने हामी धेरै मान्छे ल्याउन सक्छौं।
यही स्तरमा हामीले चित्त बुझाएर बस्नु हुँदैन। हरेक दिन २४ घण्टै हामी त्यसमा लागि परेका हुन्छौं। हाम्रो सबै तारे होटलहरुमा एचआर डिपार्टमेन्ट हुन्छ। त्यसको काम भनेको स्तर बढाउनेमै केन्द्रित हुन्छ। होटल संघ नेपालले पनि यसलाई एकदमै नजिकबाट हेरेको छ। सेवा नबढि हाम्रो होटल मात्रै होइन, पर्यटन व्यवसाय पनि टिक्दैन।
स्थानीय तहमा पनि सहकार्य
हामी अहिले स्थानीय निकायसँग पनि सहकार्य गरिरहेका छौं। दुई हप्ता पहिले मात्रै पोखरामा पर्यटन संभावनाको विषयमा कार्यक्रम गरेका थियौं। त्यहाँको प्रदेश सरकारसँग बसेर पोखरालाई देशको पर्यटकीय राजधानी बनाउन सक्छौं भनेर अवधारणा दिएर आएका छौं।
अब नीति निर्माण त सरकारले बनाउनु पर्यो नि। सबै कुरालाई मिलाएर लानुपर्यो। ठमेल र सौराहामा जसरी विकास भएको छ, त्यो हामीलार्ई चाहिनेभन्दा बढी विकास भैसक्यो।
अब यहाँ पर्यटकले रमाइलो मान्दैनन्। अब हामीले नयाँ ढंगबाट विकास गर्नुपर्छ। पहिले हापझाप पाराले विकास भयो, तर अब योजनावद्ध रुपमा विकास हुनुपर्यो।
नेपालको ब्राण्डिङ गर्नुपर्यो। नेपाल पर्यटक दुई वटा कारणले आउँछन्। ट्रेकिङ तथा माउण्टेन गर्न र यहाँको कल्चरका कारण। यी नै कुरालाई हामीले ब्रान्डिङ गर्नुपर्यो– नेपाल आउने मान्छेले यो पाउँछन् भनेर।
सातै प्रदेशमा यो हुनुपर्यो। बजेटमा नेपालका सातै प्रदेशमा सय वटा पर्यटकीय क्षेत्रको विकास गर्ने भनेर बजेट छुट्याइएको छ। त्यसमा हामी पनि संलग्न भएर काम गरिरहेका छौं। सुरुवात भएको छ तर कामको गति ठिक छैन।
दुई वर्षपछि २० लाख पर्यटक ल्याउने भनेका छौं। होटलका तर्फबाट हामी अहिले नै तयार छौं। नेपाली पर्यटनको लक्ष्य तोकेको हामीले हो, पूरा गर्नुपर्छ पनि हामीले नै। यसका लागि पूर्वाधार तयारमा जुट्न ढिलो गर्नु हुँदैन।
(होटल व्यवसायी संघ नेपालका महासचिव विनायक शाहसँग उजिर कार्कीले गरेको कुराकानीमा आधारित)